उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आदेश : पेट्रोलमा १०% सम्म इथानोल मिसाएर बिक्री गर्न पाइने


काठमाडौं। सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खोल्दै ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ जारी गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले उक्त आदेश जारी गरेको जनाएको छ।

आदेशअनुसार चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको खोया, गहुँको छ्वालीजस्ता कृषि अवशेष तथा खान अयोग्य सडेगलेका अन्नलाई इथानोल उत्पादनको कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिनेछ। तर मानिसले खान योग्य खाद्यान्नलाई इथानोल उत्पादनमा प्रयोग गर्न भने कडा प्रतिबन्ध लगाइएको छ।

इथानोलको खरिद, बिक्री तथा वितरण व्यवस्थापनका लागि नेपाल आयल निगमलाई एकाधिकार प्रदान गरिएको छ। इजाजतप्राप्त उद्योगहरूले उत्पादन गरेको सम्पूर्ण इथानोल अनिवार्य रूपमा आयल निगमलाई मात्रै बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ।

निगमले उपलब्धता र प्राविधिक अवस्थाअनुसार प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न सक्नेछ। आवश्यकता अनुसार मन्त्रिपरिषद्को निर्णयबाट मिश्रण अनुपात घटबढ गर्न सकिने प्रावधान पनि आदेशमा राखिएको छ।

इथानोलको गुणस्तर भने नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्डअनुसार हुनुपर्नेछ। साथै उत्पादन, भण्डारण, ढुवानी र मिश्रण प्रक्रियाका लागि आवश्यक सुरक्षा मापदण्ड मन्त्रालयले छुट्टै बनाएर लागू गर्ने जनाएको छ।

यस नीति कार्यान्वयन र सहजीकरणका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ। समितिले इथानोल खरिद मूल्य निर्धारण, उद्योग प्रवर्द्धन तथा आवश्यक नीतिगत सिफारिस गर्नेछ। साथै सर्वसाधारणलाई इथानोल मिश्रित पेट्रोलको उपयोगिताबारे जानकारी दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी आयल निगमलाई दिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको