सर्लाही। निर्वाचनका क्रममा बेहोस भएका एक मतदान अधिकृतको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो रहेका छन्। उनी सर्लाहीको पर्सा गाउँपालिका-४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटिएका थिए।
मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा दिउँसो करिब साढे २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
रौतहटको माधवनारायण नगरपालिका-६ निवासी महतो सिनियर अहेबका रूपमा कार्यरत थिए। मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो।
घटनाबारे आवश्यक प्रक्रिया अगाडि बढाइएको सम्बन्धित निकायले जनाएको छ।



















