जनकपुरधाम। धनुषामा प्रेम सम्बन्धकै कारण १९ वर्षीय युवकको हत्या भएको खुलेको छ। बिहीबार दिउँसो करिब ४ बजे औरही गाउँपालिका-६ स्थित खेतमा मृत अवस्थामा फेला परेका हंसपुर नगरपालिका-९ रुदौलीका सुमित मण्डलको हत्या प्रेम सम्बन्धको विवादका कारण भएको प्रहरीले जनाएको छ।
शव घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर चोट लागेको अवस्थामा फेला परेको थियो। शरीरका अन्य भागमा पनि कुटपिटका चोट देखिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले पत्रकार सम्मेलन गर्दै मृतकको हंसपुर-६ निवासी १७ वर्षीया किशोरीसँग प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।
हत्या आरोपमा प्रहरीले किशोरीसहित उनका २० वर्षीय दाजु दिपेशकुमार मण्डल र २९ वर्षीय काका परमेश्वर मण्डललाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सुमित र ती किशोरीबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध थियो। बुधबार घरमा कोही नभएको बेला सुमित भेट्न पुगेका थिए। त्यस क्रममा परिवारका सदस्यले थाहा पाएपछि विवाद उत्पन्न भएको र सुमितलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कुटपिटपछि उनलाई मोटरसाइकलमा राखेर करिब डेढ किलोमिटर टाढा खेतमा लगेर हत्या गरिएको आशंका गरिएको छ। घटनामा प्रयोग भएको धारिलो हतियार, मोटरसाइकल तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









