विराटनगरमा १ हजार ५ सय राजनीतिक सन्देश अंकित टी-सर्ट जफत


विराटनगर। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कोशी प्रदेशको राजधानी विराटनगरबाट प्रहरीले १ हजार ५ सय थान टी–सर्ट र भेष्ट जफत गरेको छ। मौन अवधि सुरु हुन केही दिन बाँकी रहँदा बजारमा खुला रूपमा बिक्रीका लागि राखिएका राजनीतिक सन्देश तथा नेताहरूको तस्बिर अंकित सामग्री नियन्त्रणमा लिइएको हो।

जफत गरिएका अधिकांश सामग्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को संयुक्त तस्बिर छापिएको थियो। केही टी-सर्टमा उनीहरूको नामसँगै राजनीतिक सन्देशसमेत उल्लेख गरिएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार फागुन १८ गतेदेखि मौन अवधि लागू हुने र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने सन्दर्भमा बजारमा यस्ता सामग्री बिक्री हुनु संवेदनशील विषय हो। निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै पनि प्रकारको प्रचार सामग्री उत्पादन, प्रदर्शन, वितरण वा बिक्री गर्न नपाइने व्यवस्था छ।

प्रहरी स्रोतका अनुसार पसल अगाडि प्रदर्शनका लागि राखिएका मात्र नभई गोदाममा भण्डारण गरिएका सामग्रीसमेत बरामद गरिएको हो। होली पर्वलाई लक्षित गर्दै युवापुस्तामाझ बिक्रीका लागि ल्याइए पनि मौन अवधि नजिकिँदै गर्दा मतदातामाथि प्रभाव पार्न सक्ने निष्कर्षसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक चरणमा व्यापारीहरूलाई सचेत गराइएको र आगामी दिनमा यस्ता सामग्री आयात तथा बिक्री गरेको पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ। जफत गरिएका सामग्रीको उत्पादन र आपूर्तिसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताको पूर्ण पालना गराउन बजार, सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा निगरानी थप कडा पारिएको प्रहरीले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको