सिरहामा निर्वाचन आचारसंहिता उल्लंघन बढ्दो, सार्वजनिक स्थलमा झन्डा र तडक-भडक कायमै


१४ फागुन, सिरहा। यही २१ फागुनमा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले आह्वान गरे पनि मधेश क्षेत्रमा आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको पाइएको छ।

आयोगले तडक-भडक, बाजा-गाजा तथा सार्वजनिक स्थानमा पार्टीका झन्डा झुन्ड्याउन नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। तर सिरहाका विभिन्न स्थानमा उक्त निर्देशनको अवज्ञा भइरहेको देखिएको छ।

आयोगको निर्देशनविपरीत गोलबजार, चोहर्वा, नयाँ चौक चोहर्वा तथा नरहा-बिष्णुपुरलगायत क्षेत्रमा सडक, चोक तथा अन्य सार्वजनिक स्थानमा दलका झन्डा र प्रचार सामग्री खुला रूपमा राखिएको छ।

स्थानीय रामउदगार साहले सरकार र आयोगले तडक-भडक नगर्न पत्राचार गरे पनि दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले त्यसको पालना नगरेको भन्दै चिन्ता व्यक्त गरे। सम्बन्धित निकाय मौन बस्दा विभिन्न तरिकाले मतदातालाई प्रभावित पार्ने खतरा रहने उनको भनाइ छ। उनले प्रभावकारी अनुगमन गरी यस्ता गतिविधिमा रोक लगाउन माग गरेका छन्।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बाजासहित गाउँगाउँमा मत माग्ने र सार्वजनिक स्थानमा झन्डा झुन्ड्याउने विषयमा अनुगमन गरिने बताएका छन्। ‘दलहरूले आफैं बुझ्नुपर्ने कुरा हो,’ उनले भने।

पत्राचार गर्दा पनि अटेरी गरे प्रहरी परिचालन गरी झन्डा हटाउने र बाजामा रोक लगाइने प्रमुख जिल्ला अधिकारी पौडेलले चेतावनी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको