१३ फागुन, बर्दिबास, महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने आज महोत्तरी क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय, बर्दिबास चौकमा आउँदैछन्। क्षेत्रको समग्र अवस्था, विकासका चुनौती तथा जनताका दैनिक समस्याबारे प्रत्यक्ष जानकारी लिन र कार्यकर्तासँग अन्तरक्रिया गर्न उहाँको बर्दिबास आगमन हुन लागेको हो।
आज दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा लामिछानेले स्थानीयवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। सम्बोधनमार्फत क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा-स्वास्थ्य सेवा सुधार तथा सुशासनका विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरिने जनाइएको छ।
पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार प्रमोद महतो ले जानकारी दिँदै भने, “सभापति ज्यू स्वयं क्षेत्रको वस्तुस्थिति बुझ्न र जनताको आवाज प्रत्यक्ष सुन्न बर्दिबास आउन लाग्नुभएको हो। यहाँका मुख्य समस्याको पहिचान गरी समाधानका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुहुनेछ।”
उनका अनुसार कार्यक्रममार्फत नागरिकसँग खुला संवाद गर्दै आगामी कार्ययोजना र पार्टीको नीति-कार्यक्रमबारे जानकारी गराइनेछ। स्थानीय कार्यकर्ता तथा समर्थकहरू कार्यक्रम सफल बनाउन सक्रिय तयारीमा जुटेका छन्।









