काठमाडौं। धादिङमा मध्यराति भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
राति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस सडकबाट तल खस्दै त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो। साथै नेपाल प्रहरी र नेपाली सेनाका टोली पनि उद्धारमा सहभागी भएका थिए।
दुर्घटनामा मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। राति भएकाले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ।
घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। मृतक तथा घाइतेको सनाखत हुन बाँकी रहेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।









