प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल-भारत सीमा ७२ घण्टा बन्द गर्ने निर्णय


७ फागुन, विराटनगर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूले ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय गरेका छन्।

बिहीबार कोशी प्रदेशका सीमावर्ती जिल्ला झापा, मोरङ र सुनसरी तथा भारतका सीमावर्ती किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूको बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि सीमामा आवागमन रोक्ने सहमति गरेको हो।

सहमतिअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहनेछ।

बैठकमा नेपाली पक्षले चुनावी प्रचारप्रसारका लागि भारतीय सवारी साधनको नेपाल प्रवेशमा रोक लगाउन भारतीय सुरक्षा निकायसँग आग्रह गरेको छ।

मोरङ का सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला का अनुसार भारतीय सुरक्षा अधिकारीहरू यस विषयमा सहयोग गर्न सकारात्मक देखिएका छन्।

उनले भने, “भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्न निर्वाचन आचारसंहिताले अनुमति दिँदैन, हामीले यसमा कडाइ गरेका छौँ। भारतीय पक्षलाई पनि सहयोगका लागि आग्रह गरेका छौँ।”

सीमा क्षेत्रमा दुवै देशका सुरक्षा निकायले संयुक्त गस्ती बढाउने सहमति पनि गरेका छन्। बैठकमा तेस्रो मुलुकका नागरिकहरूको अनधिकृत प्रवेश रोक्ने, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्राको कारोबार नियन्त्रण गर्ने, हातहतियारको तस्करी तथा अवैध नगद ओसारपसारजस्ता सीमापार अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको सहायक प्रजिअ कोइरालाले जानकारी दिए।

बैठकमा कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुख र भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको