प्रजातन्त्र दिवससँगै भोलि १० औँ निर्वाचन दिवस मनाइँदै


काठमाडौं। भोलि प्रजातन्त्र दिवससँगै देशभर १० औँ निर्वाचन दिवस मनाइँदैछ। मुलुकमा प्रजातन्त्र स्थापना भएको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा निर्वाचन दिवस मनाउने गरिएको हो।

नेपालमा आमनिर्वाचन सुरु भई बालिग नागरिकले मताधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनका रूपमा यस दिवसलाई लिइन्छ। संवैधानिक अंगका रूपमा रहेको निर्वाचन आयोग ले स्थानीय तहदेखि राष्ट्रपतिसम्मका निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउँदै आएको छ।

आयोग अहिले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीमा जुटिरहेको छ। वर्तमान संविधान जारी भएपछि आयोगले दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यका विभिन्न निर्वाचन तथा उपनिर्वाचन सम्पन्न गरिसकेको छ।

यी निर्वाचनमार्फत् जनप्रतिनिधि निर्वाचित भई प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणाली सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ। इतिहासका विभिन्न राजनीतिक परिवर्तनपछि मुलुकले अंगीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान तथा कानुनअनुसार वैधानिकता प्रदान गर्ने दायित्व आयोगले निर्वाह गर्दै आएको छ।

यस वर्ष आसन्न प्रतिनिधिसभा निर्वाचनमै केन्द्रित हुनुपर्ने भएकाले बिहीबार कान्तिपथस्थित परिसरमा कार्यक्रम आयोजना गरी दिवस मनाइने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

यसैदिन विसं २००७ फागुन ७ गते नेपालमा पहिलो पटक प्रजातन्त्र आएको स्मरणमा राष्ट्रिय प्रजातन्त्र दिवस पनि मनाइँदैछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको