विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद, चालक फरार


३ फागुन, विराटनगर। विराटनगरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्कोरपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। विराटनगर महानगरपालिका-५ पुलचोकस्थित भित्री सडक खण्डमा बा ८ च ६५०८ नम्बरको स्कोरपिओ आइतबार बिहान करिब १ बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सीआरभी बरगाछीका असई सन्तोष कटवाल र वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर साजन महतरा नेतृत्वको संयुक्त टोली घटनास्थल पुगेको थियो। प्रहरीले गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद गरिएको हो।

घटनापछि चालक फरार रहेका छन्। चालकको पहिचान खुल्न बाँकी रहेको र खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको डीएसपी हरिनन्दन चौधरी नेतृत्वको टोलीले खाल्डोमा छिरेको गाडी क्रेनको सहयोगमा बाहिर निकालेको थियो। बरामद गाँजा र नियन्त्रणमा लिइएको गाडी जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हुन सक्छ। उक्त गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा यकिन भइसकेको छैन। यद्यपि भारततर्फ कटाउने तयारी गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सीमावर्ती क्षेत्रमा चेकजाँच कडा पारिएको अवस्थामा तस्कर समूहले वैकल्पिक भित्री सडक प्रयोग गर्ने रणनीति अपनाउने गरेको प्रहरीको विश्लेषण छ। पुलचोक क्षेत्र मुख्य सडकबाट भित्री मार्गतर्फ जाने संवेदनशील बिन्दु मानिन्छ।

गाडीको दर्ता विवरण, स्वामित्व तथा सम्भावित आपराधिक सञ्जालबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ। नम्बर प्लेटका आधारमा गाडीधनीसम्म पुग्ने प्रक्रिया अघि बढाइएको र चालकको पहिचान खुलाउने प्रयास जारी रहेको छ।

एसपी कटवालका अनुसार मोरङमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको छ। सीमावर्ती नाकामा विशेष निगरानी, भित्री सडकमा मोबाइल गस्ती तथा सन्दिग्ध सवारीसाधनमा आकस्मिक चेकजाँच तीव्र बनाइएको छ।

उनले ४२० किलो गाँजा सामान्य परिमाण नभएको उल्लेख गर्दै यसको पछाडि संगठित सञ्जाल सक्रिय रहेको हुन सक्ने बताए। “चालक मात्रै नभई यसका पछाडि सञ्जालगत योजना र समन्वय रहेको हुन सक्छ। हामी गाडी मालिक, चालक र सम्भावित आपूर्ति सञ्जाल सबै पत्ता लगाउने गरी अनुसन्धानमा जुटेका छौं,” उनले भने।

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। ठूलो परिमाणमा लागुऔषध बरामद हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रमाण संकलन, परीक्षण तथा सञ्जाल पहिचानको प्रक्रिया सुरु भइसकेको एसपी कटवालको भनाइ छ।

उनले गाँजाको नेटवर्क पत्ता लगाउन सीमावर्ती क्षेत्र, पहाडी उत्पादन क्षेत्र तथा अन्तरजिल्ला यातायात मार्गहरूमा समेत समन्वय बढाइएको बताए। “प्रमाण संकलन, परीक्षण र सञ्जाल पहिचानको प्रक्रिया अघि बढिसकेको छ। सबै तथ्य बाहिर ल्याएर दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ,” उनले भने।

मोरङमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण रहे पनि कारबाहीलाई अझ तीव्र बनाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको