बागलुङ। बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना विद्यार्थी घाइते भएका छन्। मध्यपहाडी लोकमार्गबाट भ्यान खस्दा उक्त दुर्घटना भएको हो।
बागलुङ नगरपालिका-१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान लोकमार्गबाट रात्माटा जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। भ्यान बागलुङ नगरपालिका-३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै दुर्घटनाग्रस्त भएको हो।
प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार दुर्घटनामा २४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार भ्यान लोकमार्गबाट अन्दाजी ५० मिटर तल शिवधारचोक जाने सडकमा खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









