२६ माघ, वीरगन्ज। वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि व्यापारीहरूले आक्रमण गरेका छन्। घटनामा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीमा क्षति पुगेको छ।
आदर्शनगरस्थित विनोद साह (कानु) सञ्चालक रहेको ‘सबिता ट्रेडर्स’को गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा टोली पुगेको थियो। राजश्व छलेर भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको सूचना पाएपछि दुईवटा गाडीमा सशस्त्र प्रहरी त्यहाँ पुगेको बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार गोदाममा खानतलासी प्रक्रिया सुरु गर्ने क्रममा व्यापारीहरूले विरोध जनाएका थिए। व्यापारीहरूले बिलबिजक आफूसँग रहेको दाबी गर्दै अनावश्यक दुःख दिन खोजिएको आरोप लगाएपछि विवाद चर्किएको थियो।
प्रहरीले गोदामको ताल्चा फुटाएर खानतलासी गर्न खोज्दा अवस्था तनावग्रस्त बनेको थियो। त्यसक्रममा केही व्यापारीहरूले बाँसका भाटा र ढुंगाले प्रहरीमाथि प्रहार गरेका थिए। आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन्। ढुंगाले लागेर प्रहरीको गाडीको सिसा पनि फुटेको छ। त्यसपछि प्रहरी टोली गाडी लिएर त्यहाँबाट फर्किएको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले गोदामबाट केही सामान नियन्त्रणमा लिइएको र त्यसको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
यता आदर्शनगरका ट्रान्सपोर्ट व्यवसायीहरूले भने सशस्त्र प्रहरीले प्रक्रिया नपुर्याई गोदाममा छापा मार्ने र बिलबिजक भएको सामानसमेत उठाएर लैजाने गरेको आरोप लगाएका छन्। एक व्यवसायीका अनुसार सशस्त्र प्रहरीले बारम्बार गोदाममा आएर ताल्चा फुटाएर सामान लैजाने र पछि राजश्व अनुसन्धान कार्यालयमा प्रमाण पेश गरेपछि मात्र सामान फिर्ता हुने गरेको छ।
व्यवसायीहरूले गोदाममा खानतलासी गर्ने अधिकार राजश्व अनुसन्धान कार्यालयसँग मात्रै रहेको दाबी गर्दै सशस्त्र प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।









