सप्तरीको दुधैला खोलामा शङ्कास्पद वस्तु विस्फोट, चार बालक घाइते


२४ माघ, सप्तरी। रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शनिबार शङ्कास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। वनभोज खान त्यहाँ पुगेका बालकहरूले खोलामा भेटिएको ‘रकेट’ जस्तो देखिने वस्तुलाई खेलौना ठानेर दाउरासँगै जम्मा गरी राखेका थिए। चुल्हो नजिक राखिएको उक्त वस्तु अचानक विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटबाट रुपनी गाउँपालिका-६ का साजन आले मगरका ११ वर्षीय छोरा साहस मगर, मनोज थापा मगरका ९ वर्षीय छोरा प्राशिस थापा मगर, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर थापा मगर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज विक घाइते भएका छन्।

घाइतेमध्ये साहस र प्राशिसको पैतालामा गम्भीर चोट लागेको छ भने शरीरका विभिन्न भागमा छर्रा लागेको छ। कविर र सुरजको पनि शरीरका विभिन्न भागमा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घाइतेहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

“वनभोज खान गएका बालकले रकेट जस्तो देखिने वस्तु भेटेका र सोही वस्तु विस्फोट भएको प्रारम्भिक जानकारी आएको छ,” प्रवक्ता पुरीले भन्नुभयो। उहाँले घाइते बालकहरूको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जानकारी दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको