परिवर्तनको आशा र विश्वासको रूपमा स्थापित हुँदै डा. सीके राउत


२२ माघ, सप्तरी – चन्दन रजक। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सप्तरी क्षेत्र नम्बर-२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचन हुन अब करिब चार हप्ता मात्र बाँकी रहँदा यस क्षेत्रको राजनीतिक माहोल उल्लेखनीय रूपमा गर्माएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत यस क्षेत्रबाट उम्मेदवार बनेपछि चुनावी प्रतिस्पर्धाले नयाँ दिशा लिएको छ।

‘निकास र विकास’ लाई मूल एजेन्डा बनाएर घरदैलो अभियानमा जुटेका डा. राउतप्रति जनसमर्थन क्रमशः बढ्दै गएको देखिन्छ। लामो समयदेखि उपेक्षा, विभेद र अविकासको चपेटामा परेको सप्तरी-२ का मतदाताहरू यसपटक वैकल्पिक, सक्षम र दूरदर्शी नेतृत्वको खोजीमा रहेको स्थानीयको भनाइ छ।

डा. राउतले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषिको आधुनिकीकरण तथा सुशासनलाई आफ्नो प्रमुख चुनावी प्राथमिकताका रूपमा अघि सारेका छन्। मधेश आन्दोलनदेखि जनअधिकार, पहिचान र समानताको मुद्दामा निरन्तर संघर्ष गर्दै आएका उनी पछिल्लो समय विकास, स्थायित्व र समृद्धिको स्पष्ट खाकासहित जनतामाझ प्रस्तुत भइरहेका छन्।

घरदैलो अभियानका क्रममा डा. राउतले वृद्धवृद्धा, महिला, युवा, किसान, मजदुर तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष संवाद गर्दै आएका छन्। जनताको दुःख-सुख बुझ्ने, स्थानीय समस्या टिपोट गर्ने र समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने उनको कार्यशैलीले मतदातामा भरोसा बढाएको स्थानीयको प्रतिक्रिया छ। “पहिले नेताहरू चुनावको बेला मात्र देखिन्थे, तर डा. राउतले त हाम्रो घरमै आएर कुरा सुन्नुभयो,” एक स्थानीय मतदाताले बताए।

विशेषगरी युवापुस्तामाझ डा. राउतप्रतिको आकर्षण उल्लेखनीय देखिन्छ। विदेश पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना, सीपमूलक शिक्षा तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उनको योजनाले युवालाई उत्साहित बनाएको छ। त्यस्तै, शिक्षा, स्वास्थ्य र आत्मनिर्भरतासम्बन्धी एजेन्डाका कारण महिलाहरू पनि उनको अभियानप्रति सकारात्मक देखिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि र निराशाको फाइदा जनमत पार्टीले उठाइरहेको छ। स्पष्ट विचार, संघर्षको पृष्ठभूमि र संगठनात्मक सक्रियताले डा. राउतलाई बलियो उम्मेदवार बनाएको उनीहरूको ठम्याइ छ। पछिल्लो समय विभिन्न समुदाय, वर्ग र पेशाका व्यक्तिहरू जनमत पार्टीमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ।

चुनावी प्रचारप्रसारको अन्तिम चरण नजिकिँदै गर्दा जनमत पार्टी सशक्त संगठन, जनआधारित अभियान र वैचारिक स्पष्टतासहित मैदानमा उत्रिएको छ। “अब भाषण होइन, समाधान चाहिन्छ” भन्ने जनभावनालाई आत्मसात् गर्दै अघि बढिरहेका डा. सीके राउत सप्तरी-२ मा परिवर्तनको आशा र विश्वासको प्रतीकका रूपमा स्थापित हुँदै गएका छन्। मौजुदा परिस्थितिमा उनको समर्थन निरन्तर बढ्दै जाँदा यस निर्वाचनमा जनमत पार्टी निर्णायक शक्तिका रूपमा उदाउने सम्भावना बलियो बन्दै गएको देखिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको