प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि महोत्तरीमा सेना परिचालन


महोत्तरी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरी बुधबारदेखि महोत्तरी जिल्लामा नेपाली सेना परिचालन गरिएको छ।

नेपाली सेनाको गोरखनाथ गण, परिकौलिबाट महोत्तरीका चारै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै बेस (वेश) स्थापना गरी निर्वाचन लक्षित सुरक्षाका लागि सेना परिचालन गरिएको गोरखनाथ गण परिकौलिका गणपति रामप्रसाद लामिछानेले जानकारी दिनुभयो।

गणपति लामिछानेका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नं. १ को बर्दिवास, क्षेत्र नं. २ को बलबा, क्षेत्र नं. ३ को जलेश्वर र क्षेत्र नं. ४ को रामगोपालपुरमा बेस स्थापना गरी सेना परिचालन गरिएको हो।

“नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा बुधबार बिहानैदेखि निर्वाचन लक्षित सुरक्षाका लागि सेना सहितको संयुक्त गस्ती सुरु गरिएको छ,” गणपति लामिछानेले भन्नुभयो, “हाल सेनाका जवानहरूले जिल्ला सुरक्षा समितिले तोकेका संवेदनशील मतदान स्थलहरूको निरीक्षण तथा अनुगमन गरिरहेका छन्।”

उहाँका अनुसार निरीक्षणका क्रममा मतदान स्थलहरूमा हुन सक्ने सुरक्षा चुनौतीको वास्तविक अवस्था मूल्यांकन गरी सुरक्षा प्रबन्ध मजबुत बनाउने योजना अनुरूप सेना खटिएको हो। शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउने लक्ष्यसहित सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

हाल चारवटै निर्वाचन क्षेत्रमा बेस स्थापना गरी सेना परिचालन गरिएको र आवश्यकताअनुसार जिल्लाका सबै मतदान स्थलसम्म सुरक्षा विस्तार गरिने जनाइएको छ।

जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा कुल ४ लाख ३१ हजार २८२ मतदाता रहेका छन्। जसमा २ लाख ३५ हजार १८३ पुरुष, १ लाख ९२ हजार ९७ महिला र अन्य २ जना मतदाता रहेका छन्।

महोत्तरीमा २५८ मतदान स्थल र ५३६ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये १६३ मतदान स्थल अति संवेदनशील, ८९ संवेदनशील र ६ मतदान स्थल सामान्य सुरक्षा अवस्थाको सूचीमा रहेका छन्।

निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं. १ मा १ लाख ५ हजार ६४६ मतदाता रहेका छन् भने ५९ मतदान स्थल र १२० मतदान केन्द्र तोकिएको छ। क्षेत्र नं. २ मा १ लाख ७ हजार ५९४ मतदाताका लागि ६२ मतदान स्थल र १३३ मतदान केन्द्र निर्धारण गरिएको छ।

यस्तै, क्षेत्र नं. ३ मा १ लाख १० हजार ४३६ मतदाताका लागि ७७ मतदान स्थल र १४२ मतदान केन्द्र तथा क्षेत्र नं. ४ मा १ लाख ७ हजार ६०६ मतदाताका लागि ६० मतदान स्थल र १३१ मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रञ्जिता झाले जानकारी दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको