तेस्रो खेपमा १५० स्कोरपियो र ७३ बोलेरो पिकअप
काठमाडौं। आगामी निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान सवारीसाधन नेपाल ल्याउन लागिएको छ। भारत सरकारले उपहार स्वरूप उपलब्ध गराउने गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको भारतीय दूतावास स्रोतले जनाएको छ।
स्रोतका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो गाडी नेपाल ल्याइँदै छन्।
यसअघि पहिलो खेपमा ६१ थान गाडी नेपाल भित्र्याइएको थियो। ती गाडीहरू माघ ६ गते भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। यसपटकको निर्वाचनका लागि भारत सरकारले साना-ठूला गरी कुल ५३८ थान गाडी नेपाललाई उपलब्ध गराउने बताइएको छ।
निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सवारीसाधन माग गरेको थियो। प्राप्त हुने सबै गाडी भारतीय दूतावासमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरिने र गृह मन्त्रालयले आवश्यकता अनुसार सम्बन्धित निकायमा वितरण गर्ने व्यवस्था रहेको छ।
गत भदौ २३ र २४ गते भ्रष्टाचार र सुशासनको मागसहित भएको जेन-जी पुस्ताका युवाहरूको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी हुँदा भवन तथा सवारीसाधनमा क्षति पुगेको थियो। त्यसपछि निर्वाचन सुरक्षाका लागि सवारीसाधनको अभाव झन् बढेको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्।
“हामी निर्वाचन तयारीमा जुटेका छौं, तर धेरै जिल्लाबाट गाडी अभाव भएको भन्दै माग आइरहेको छ,” गृह मन्त्रालयका एक अधिकारीले बताए।
निर्वाचन प्रयोजनका लागि भारतको सहयोगमा प्राप्त यी सवारीसाधनहरू निर्वाचनपछि नेपाल सरकारले आवश्यकता अनुसार प्रयोग गर्न सक्ने जनाएको छ।









