सर्लाही। सर्लाही जिल्लाको कविलासी नगरपालिका निवासी रितेश मण्डलले १९ वर्षको उमेरमै व्यावसायिक पाइलट बनेर देशकै कम उमेरका पाइलटमध्ये एक हुने गौरव हासिल गरेका छन्।
सानै उमेरदेखि आकाशमा उड्ने सपना देख्दै आएका मण्डलले फिलिपिन्समा उड्डयनसम्बन्धी अध्ययन सफलतापूर्वक पूरा गरी व्यावसायिक पाइलटको प्रमाणपत्र प्राप्त गरेका हुन्। विदेशमा बसेर कठिन तालिम, निरन्तर उडान अभ्यास तथा विभिन्न परीक्षा पार गर्दै उनले आफू सक्षम पाइलट भएको प्रमाणित गरेका छन्।
कडा मेहनत, अनुशासन र निरन्तर अभ्यासकै कारण आज यो उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको उनको भनाइ छ। रितेशको सफलताले उनलाई मात्र नभई उनका परिवार, सर्लाही जिल्ला तथा सम्पूर्ण देशलाई नै गौरवान्वित बनाएको छ।
उनका अभिभावकहरूले छोराको सफलताप्रति खुशी व्यक्त गर्दै निरन्तर परिश्रम, लगनशीलता र स्पष्ट लक्ष्य भएमा जुनसुकै सपना पनि पूरा गर्न सकिने बताएका छन्।
युवा उमेरमै अन्तर्राष्ट्रिय स्तरको सीप हासिल गरेका रितेश मण्डल आजका नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। भविष्यमा उनले नेपालको उड्डयन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।









