गायक बेल बहादुर परियारको नयाँ सिर्जना बर्दिबासमा विमोचित


१९ माघ, बर्दिबास – जीवनराज दाहाल। लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो सोमबार बर्दिबासमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा भिडियो विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री र विशिष्ट अतिथि मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापाले संयुक्त रूपमा म्युजिक भिडियो विमोचन गरेका थिए। विमोचनपछि भिडियो प्रोजेक्टरमार्फत उपस्थित दर्शकलाई प्रदर्शन गरिएको थियो।

गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको छ। शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको गीतको एरेञ्ज, मिक्स तथा मास्टरिङ राजिव शाहले गरेका हुन् । म्युजिक सिटी डिजिटल, अनामनगरमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट प्रकाश श्रेष्ठ हुन्।

म्युजिक भिडियोमा सञ्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी राजाराम सिंखडा, छायाङ्कन सन्तोष तिमल्सिना, श्रृङ्गार नितु लामा तथा सम्पादन रोशन धितालले गरेका छन्। भिडियो मिलन फिल्म्स प्रोडक्सन प्रा.लि. द्वारा निर्माण गरिएको हो।

कार्यक्रममा बोल्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय प्रतिभालाई पहिचान गराउँदै अगाडि बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए। उनले गायक परियारलाई व्यवसायिक तथा राष्ट्रिय कलाकारका रूपमा स्थापित गर्न नगरपालिकाले सदैव सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि सारदा देवी थापाले गायक परियारले लामो समयदेखि लोक तथा दोहोरी क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन्। अपेक्षित प्रचार नपाए पनि निरन्तर सङ्घर्ष गर्दै सांगीतिक यात्रालाई अघि बढाइरहेको बताउँदै उनले अब सबै मिडियाले परियारलाई चिनाउन सहयोग गर्नुपर्नेमा जोड दिइन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका अध्यक्ष समेत रहेका गायक बेल बहादुर परियारले गीत विमोचनका क्रममा आफ्नो सांगीतिक यात्राका आरोह-अवरोह, संघर्ष र साधनाका अनुभव साझा गरे। उनले दर्शक-श्रोताको माया र समर्थनले नै कलाकारलाई ऊर्जा दिने भन्दै सबैलाई आफ्नो सिर्जनालाई हेर्न, सुन्न र माया गर्न आग्रह गरे ।

कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण बिनोद ढुङ्गेलले गरेका थिए भने मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो।

गायक परियारले यसअघि ‘जाग नेपाली वीर नेपाली’, ‘सिन्धुलीका सुसेलीहरू’, ‘गरौं है रमाइलो’, ‘मिठो सम्झना’ लगायत थुप्रै गीत सार्वजनिक गरिसकेका छन्। हालै सार्वजनिक ‘फूल खसिगो, माया बसिगो’ पनि दर्शक-श्रोताले रुचाउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको