काठमाडौं। नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र तयार पारेर ठगी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका-७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकी राजदूतावासमा बुझाएको कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली बनाइएको पुष्टि भएपछि सो कार्यमा संलग्न सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा तनहुँका १९ वर्षीय किरणसिंह ठकुरी, पर्वतका ४० वर्षीय अनिल शर्मा, काठमाडौंका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटका ४२ वर्षीय केशव फुँयाल, नुवाकोटकै ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौंकी ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल रहेका छन्।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणित गर्दा कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि गिरोहलाई पक्राउ गरिएको हो।
पक्राउ परेका सातै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।









