सप्तरीमा घुस लिँदै गरेको भिडियो खिच्दा पत्रकारमाथि प्रहरीको दुर्व्यवहार


१८ माघ, राजविराज, सप्तरी। सप्तरीको बेल्हीस्थित राजविराज भन्सार कार्यालय नजिकै नेपाल प्रहरीले घुस लिँदै गरेको दृश्य क्यामेरामा कैद गरिरहेका एक जना पत्रकारमाथि दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको छ।

नयाँ पत्रिकाका सप्तरी संवाददाता सौरभ यादवले भारतीय बजार कुनौली बोर्डरबाट चोरीपैठारी गरी भित्र्याइएका मालसामानसँग सम्बन्धित घुस लेनदेनको भिडियो खिचिरहेका बेला भन्सारमा खटिएका सहायक हवलदार देवेन्द्र यादव आक्रोशित भएका थिए। उनले पत्रकार यादवको दाहिने हात समातेर करिब २०० मिटरसम्म घिसार्दै प्रहरी नायब निरीक्षक (सई) प्रवेशसिंह राजपुत उभिएको स्थानसम्म लगेका थिए।

प्राप्त जानकारीअनुसार सो घटनामा १५० रुपैयाँ घुस लिँदै गरेको दृश्य खिचिएको थियो। पछि पत्रकार भएको थाहा पाएपछि प्रहरीले ‘नचिनेको’ भन्दै भुलचुक भएको स्वीकार गरेको र करिब १५ मिनेटपछि उनलाई रिहा गरिएको बताइएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटना सत्य भए छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

यता पत्रकार यादवले सञ्चारकर्म गर्दै गर्दा प्रहरीबाट भएको यस्तो व्यवहार प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको उल्लेख गर्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाहीको माग गर्नुभएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको