१७ माघ, महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकाले मातहतमा रहेका क्रसर उद्योगहरूले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेटिएपछि ती उद्योगहरू बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा माघ ११ र १२ गते अवैध उत्खनन भएको नापजाँचबाट पुष्टि भएपछि सो क्षेत्रमा रहेका ८ वटा क्रसर उद्योगको उत्खनन, प्रशोधन र ढुवानी कार्यमा रोक लगाइएको हो।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुमारी महतो, महोत्तरी प्रहरी प्रमुख हेरम्ब शर्मा, जिल्ला समन्वय समितिको जिल्ला अनुगमन उपसमितिका संयोजक तथा जिल्ला समन्वय अधिकारी राधेश्याम ठाकुरसहितको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा रातिको समयमा उच्चतम् विन्दुसम्म अवैध उत्खनन गरी क्रसरमा गिट्टी-बालुवा थुपारिएको फेला परेको थियो।
अनुगमनका क्रममा मरहाका विभिन्न क्षेत्रबाट अत्यधिक परिमाणमा नदीजन्य पदार्थ लुकाई-छिपाई राखिएको पाइएकाले ती सामग्रीको खोजतलास र नापजाँच सम्पन्न नहुन्जेलसम्म क्रसर उद्योग पूर्णरूपमा बन्द राख्न निर्देशनात्मक आदेश जारी गरिएको छ।
जिल्ला अनुगमन उपसमितिले मरहा नदीमा गरिएको अवैध उत्खननलाई गम्भीर त्रुटि ठहर गरेको छ। उपसमितिका संयोजक राधेश्याम ठाकुरका अनुसार नदी किनारमा रहेका क्रसर उद्योगहरूले रात्रिकालीन समयमा करिब २० फिट गहिराइसम्म उत्खनन गरी बालुवाले छोपेर लुकाउन खोजेको तथा दर्जनौँ स्थानमा १० फिटभन्दा गहिरा खाल्डा फेला परेका छन्।
उपप्रमुख महतोले माघ १५ गतेदेखि लागू हुने गरी गौशाला नगरपालिका भित्र सञ्चालित सम्पूर्ण क्रसर उद्योगहरूलाई प्रशोधन, बिक्री-वितरण तथा ढुवानी कार्य खोजतलास र नापजाँच सम्पन्न नहुन्जेलसम्म बन्द गर्न पत्राचार गरिएको जानकारी दिएकी छन्।









