बर्दिवासमा पदम शम्सेर खड्का स्मृति प्रतिष्ठानले २४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान


१६ माघ, बर्दिवास – जीवनराज दाहाल/मिथलेश सिंह। बर्दिवासस्थित विनायक व्याङ्कुट, सिन्धुली रोडमा शुक्रबार पदम शम्सेर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिष्ठानले २०८२ सालका लागि पहिलो र दोस्रो चरणको परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो।

कार्यक्रममा विद्यार्थीहरूले विद्यालयको शुल्क विवरणसहित अभिभावकसँग उपस्थित भई छात्रवृत्ति प्राप्त गरेका थिए । यस वर्ष कुल २४ जना विद्यार्थीले बैंक चेकमार्फत छात्रवृत्ति पाएका छन्।

कार्यक्रम कुमार घिमिरेले सञ्चालन गरेका थिए। प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिका शिक्षा शाखाका प्रमुख रेवती पराजुली उपस्थित थिए भने प्रतिष्ठानका सदस्य दीपक बराल पनि कार्यक्रममा सहभागी थिए। त्यस्तै, पत्रकारहरू गोपाल बराल, विशाल बराल, डा. अजय साह, आशा तोलाङे, जीवनराज दाहाल, मिथलेस सिंहले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रमका प्रमुख वक्ता तथा प्रतिष्ठानका अध्यक्ष बिष्णु खड्काले आफ्नो विगतको संघर्ष र पारिवारिक प्रेरणाबाट प्रतिष्ठान स्थापना भएको कथा सुनाउँदै विद्यार्थीहरूलाई मार्गदर्शन गरे। अध्यक्ष खड्काका अनुसार, आर्थिक अभावका कारण उनले एसएलसीपछिको एक वर्ष पढ्न पाएका थिएनन् र उच्च शिक्षाका लागि जनकपुर वा काठमाडौँ जाने खर्च जुटाउन कठिनाइ भोग्नु परेको थियो। उनका बुबाआमाले भनेका प्रेरक शब्द “भोलि कमायौ भने आफू जस्तै गरिब र जेहेनदार विद्यार्थीलाई सहयोग गर।” ले २०७७ सालदेखि प्रतिष्ठानमार्फत सेवा सुरु गर्न प्रेरित गरेको हो।

अध्यक्ष खड्काले विद्यालय र विद्यार्थीहरूको पारदर्शी छनोट प्रक्रियाबारे जानकारी दिँदै भने कि प्रतिष्ठानले घर-घर पुगेर, छिमेकीहरूसँग सोधपुछ गरेर मात्र वास्तविक आर्थिक र शैक्षिक अवस्था बुझेर छात्रवृत्ति वितरण गर्दै आएको छ। हालसम्म ५७ जना विद्यार्थीले लाभ लिइसकेका छन् भने यस वर्ष २४ जना नयाँ विद्यार्थी थपिएका छन्। यसपटक आर्थिक अवस्था कमजोर विद्यार्थी मात्र नभई उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

उहाँले विद्यार्थीहरूलाई अनुशासन र पढाइमा गम्भीर हुन जोड दिँदै भने, “यो रकम अत्यन्त मेहनतले कमाइएको हो, त्यसैले यसको सदुपयोग अनिवार्य छ। यदि कुनै विद्यार्थी अनुशासनहीन भए वा पढाइ छाडेमा लगानी अभिभावकबाट फिर्ता लिइने छ।”

अध्यक्ष खड्काले भविष्यमा पनि प्रतिष्ठान जेहेनदार विद्यार्थीहरूको सहयोगमा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै, छात्रवृत्ति वितरण निरन्तरता पाउने विद्यार्थीहरूलाई विद्यालयको मार्कसिटको आधारमा मात्र थप लगानी हुने जानकारी दिए । साथै, कुनै अन्याय वा समस्या परेमा प्रतिष्ठानका सदस्य वा फेसबुक पेजमार्फत जानकारी लिन आग्रह समेत गरे ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो र विद्यार्थी तथा अभिभावकहरू उत्साहित देखिएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको