१४ माघ, बर्दिबास। महोत्तरीको बर्दिबासमा बुधबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्गस्थित शुभ स्वस्तिक अस्पताल अगाडि पूर्वतर्फबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०१९ प-३१०३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको पिकअप गाडी नजिकिएपछि नियन्त्रण गुमेर लडेकाे प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बर्दिबास-१४ का शैलेश मगर घाइते भएका थिए। उपचारका लागि शुभ स्वस्तिक अस्पताल पुर्याइएका मगरको उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
सोही मोटरसाइकलका चालक बर्दिबास-१४ का अबिनाश खड्का घाइते रहेका छन्। अस्पतालका अनुसार उनको खुट्टा भाँचिएको छ भने अवस्था सामान्य रहेको जनाएको छ।
दुर्घटनापछि बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री अस्पताल पुगेका थिए। मेयर क्षेत्रीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।











