बाँकेमा बेवारिसे शवको पहिचान खुल्यो, प्रेमीले हत्या गरेको प्रहरीको दाबी


बाँके। बाँकेको डुडुवा गाउँपालिका-३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृतकको हत्या भएको तथ्यसमेत खुलेको छ।

प्रहरीका अनुसार इनारमा सडेको अवस्थामा भेटिएको शव सोही गाउँ निवासी २१ वर्षीया बसन्ती गोडियाको रहेको पत्ता लागेको हो। घटनामा संलग्न आरोपमा बसन्तीका प्रेमी तथा गाउँकै २५ वर्षीय राकेश बर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार रामफेरन कुर्मीको घर पछाडिको झाडीमा रहेको इनारबाट फेला परेको शवको पहिचान सोधपुछ र प्रमाणका आधारमा गरिएको हो।

डिएसपी पातलीका अनुसार पोस्टमार्टम रिपोर्टमा मृतकको टाउको र घाँटीको विभिन्न भागमा चोट देखिएकाले हत्या भएको पुष्टि भएको छ। शवको अवस्था हेर्दा घटना करिब एक महिनाअघि भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

औपचारिक रूपमा हराएको उजुरी नआए पनि गाउँ–घर तथा छिमेकबाट जानकारी संकलन गर्दा बसन्ती पुस १ गतेदेखि सम्पर्कविहीन बनेकी थिइन्। अनुसन्धानका क्रममा मृतक र बर्माबीच प्रेम सम्बन्ध रहेको तथा सम्बन्धमा खटपट भएपछि योजनाबद्ध रूपमा हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बर्माले बसन्तीको हत्या गरी शव इनारमा फालेको भन्ने कुरा बयानमा स्वीकार गरेको छ। घटनास्थल, पोस्टमार्टम रिपोर्ट र बर्माको बयानका आधारमा प्रहरीले घटनाको पुष्टि गरेको छ।

प्रहरीले बर्मालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान अघि बढाएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको