कलैया। बाराको परवानीपुर गाउँपालिका–१, रहरियाडीमा आमा र छोराको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले मृतकका बुहारीलाई नियन्त्रणमा लिएको जनाएको छ।
बाराका प्रहरी प्रमुख एवं एसपी नरेन्द्र कुँवरका अनुसार आज बिहान करिब ३ बजे अज्ञात व्यक्तिले घरभित्र पसी ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र २८ वर्षीय रामेश्वर मण्डलको हत्या गरेका हुन्।
उक्त घटनामा ५२ वर्षीय जगरुप मण्डल र २२ वर्षीया रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वरका अन्दाजी २५ वर्षीया पत्नी मनिता देवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ जारी रहेको एसपी कुँवरले जानकारी दिए।
हत्या कसले र किन गरेको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









