८ माघ, बर्दिबास। जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबास महोत्तरीको २१ औँ नियमित साहित्य शृङ्खला यस मञ्चका अध्यक्ष प्राची सुवेदीको अध्यक्षता सम्पन्न भएको हो। सो शृङ्खला यस मञ्चको माथिल्लो सदनले आयोजना गरेको थियो।
यस मञ्चकी सचिव रेवती कार्कीले (दिलिसा) सञ्चालन गरेको उक्त कार्यक्रममा उपस्थिति सम्पूर्णलाई मञ्चकी उपाध्यक्ष विद्या साहले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रममा विभिन्न लयका कविता र गजल वाचन गरिएका थिए। सिर्जना वाचन गर्नेहरूमा स्वेच्छा महतो, विद्या साह, होम बहादुर कार्की, सुजिना आपगाइ, जिज्ञासा बैजु, दिलिसा कार्की, प्राची सुवेदी, रामचन्द्र पौडेल, रितिशा अर्याल, कृषव पौडेल रितिका यादव लगायतले वाचन गरेका थिए।
कार्यक्रममा बोल्दै अतिथि रामचन्द्र पौडेलले विद्यार्थी भाइबहिनीहरुलाई साहित्यप्रति रुचि जगाउँदै प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले स्थापना गरिएको साहित्य मञ्च विस्तारै अगाडि बढिरहेको छ भन्ने कुरा बताएका थिए। यसैगरी कार्यक्रम सक्रियतासाथ निरन्तर सञ्चालन गर्न नेतृत्व विकास र परिवर्तन आवश्यक हुन्छ। प्रत्येक वर्ष कक्षा १२ बोर्ड परीक्षा सकेर अन्यत्र जाने कुरा सर्वविदितै छ, तसर्थ हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले अर्को वर्ष नेतृत्व लिनुपर्ने हुनाले आजैबाट निरन्तर सक्रिय रहन अपिल गरेका थिए। विद्यार्थीको अनुशासन, सक्रियता, निरन्तरता, सिर्जनात्मक क्षमता साहित्यप्रतिको रुचि र झुकावलाई अध्ययन गरेर नेतृत्व प्रदान गरिने भएकोले त्यसलाई मध्यनजर गर्दै अगाडि बढ्न अनुरोध गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष प्राची सुवेदीले कार्यक्रममा उपस्थिति अतिथि लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै आगामी दिनमा पनि यस्तै साथ सहयोग रहने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन्।









