बुढ्यौली साहित्य समाज धनुषाको प्रथम साहित्यिक शृङ्खला सम्पन्न


५ माघ, धनुषा – जीवन राज दाहाल। सोमबार बुढ्यौली साहित्य समाज धनुषाको प्रथम साहित्यिक शृङ्खला यस समाजका अध्यक्ष नानीराम दहालको अध्यक्षता तथा शिक्षाप्रेमी, साहित्यिक धरोहर आदरणीय व्यक्तित्व नारायण विक्रम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बुढ्यौली साहित्य समाज महोत्तरीका सदस्य नारद प्रसाद काफ्लेले सञ्चालन गरेको प्रथम साहित्यिक शृङ्खलामा उपस्थिति प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्णलाई यस समाजका उपाध्यक्ष तोप प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरुमा बु सा स धनुषाका सदस्य नील हरि गजुरेल , बर्दिबास साहित्यिक -सांस्कृतिक प्रतिष्ठान बर्दिबास महोत्तरी अध्यक्ष यशोदा श्रेष्ठ, सर्लाही साहित्य समाजका सदस्य लक्ष्मण पौडेल, गौरीशंकर बाङमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे , बुढ्यौली साहित्य समाज महोत्तरी सचिव सुदर्शन भट्टराई , बुढ्यौली साहित्य समाज मधेश प्रदेश समितिका सचिव तथा प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी अध्यक्ष रामचन्द्र पौडेलले धारणा राखेका थिए भने साहित्य प्रेमी मोहन सिंह बानियाँ, भरत लामिछाने र जनता साहित्यिक मञ्च गौरीडाँडा बर्दिबास महोत्तरीका सदस्य अतिथि थिए।

कार्यक्रममा विभिन्न लयका कविता, गीत, गजल वाचन गरिएका थिए। वाचन गर्नेहरूमा स्मृति भण्डारी, सुदर्शन भट्टराई, नारद काफ्ले, यशोदा श्रेष्ठ, प्रेम घिमिरे, नारीराम दहाल , विपुल विद्रोही , लक्ष्मण पौडेल र स्नेहा भण्डारी थिए।

कार्यक्रममा बोल्दै अतिथि रामचन्द्र पौडेलले मिति २०८० साल मंसिर महिनामा स्थापना गरिएको बुढ्यौली साहित्य समाज धनुषाले पहिले शृङ्खला सम्पन्न गरेकोमा बु सा स मधेश प्रदेश समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। अब यस समाजले गति लिन थालेको छ, धनुषामा साहित्यिक कार्यक्रम थपिएको छ, यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नारायण विक्रम थापाले बृद्ध वर्गलाई सम्मान गर्न सिकाउने साहित्य सिर्जना गर्नु आजको आवश्यकता छ , यसलाई बुढ्यौली साहित्य समाजले अभिभावकीय भूमिका निर्वाह गर्न सकोस् भन्ने कामना व्यक्त गरेका छन्। नेपाली साहित्यका क्षेत्रमा जेष्ठ नागरिकप्रति सम्मान गर्न हौसला प्रदान गर्ने साहित्य सिर्जना हेतुले स्थापना गरिएको यो साहित्यिक संस्थाले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष नानीराम दहालले कार्यक्रममा उपस्थिति अतिथि सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए। आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गरेका थिए। कार्यक्रम श्री राष्ट्रिय आदर्श मा वि मिथिला नपा -१०, लालगढ धनुषाको सभाहलमा गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको