जनकपुर। धनुषाको मिथिला नगरपालिका-२ स्थित सतलोक आश्रमको गतिविधिमा नगरपालिकाले रोक लगाएको छ। पछिल्लो समय विवादित बनेको पूर्णब्रहम कबीर उपासक समाज नेपाल (सतलोक आश्रम) का गतिविधि कानुनी प्रक्रिया विपरीत भएको भन्दै नगरपालिकाले तत्काल रोक्न निर्देशन दिएको हो।
मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोका अनुसार आश्रमले कानुन विपरीत नक्सा पास नगरी संरचना निर्माण गर्नुका साथै बिना अनुमति गतिविधि सञ्चालन गर्दै आएको जनगुनासो स्थानीय तहमा पुगेको थियो।
नगरप्रमुख महतोले भने, “स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम भवन निर्माण गर्नु अघि नक्सा पास अनिवार्य हुन्छ। त्यस्तै गैरसरकारी संघ/संस्थाले नगरपालिकाबाट अनुमति लिएर मात्र गतिविधि सञ्चालन गर्न सक्ने व्यवस्था छ। सो व्यवस्था विपरीत काम भएको पुष्टि भएपछि रोक्न निर्देशन दिएका छौं।”
यसअघि आश्रमको जग्गा एलानी रहेको भन्दै पुस २६ गते स्थानीय र आश्रमका अनुयायीबीच विवाद भएको थियो। विवादपछि केही स्थानीय घाइते भएका थिए र आक्रोशित स्थानीयले जनकपुर-ढल्केवर सडक खण्ड अवरुद्ध गरेका थिए।
उक्त आश्रममा भारतमा जेल जीवन बिताइरहेका रामपालको पूजा आराधना हुने गरेको छ। नेपालका विभिन्न स्थान तथा भारतबाट समेत अनुयायी यहाँ आउने गरेको बताइन्छ।









