लालबन्दी, सर्लाही। नागरिक चेतनाको अभिवृद्धि, जिम्मेवार नेतृत्वको समर्थन तथा सकारात्मक राजनीतिक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले बालेन समर्थन मञ्चको आयोजनामा लालबन्दी, सर्लाहीमा नागरिक भेला सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण, अनुशासित तथा लोकतान्त्रिक मूल्य-मान्यताअनुसार सम्पन्न भएको आयोजकले जनाएको छ। नागरिक भेलामा समाजका विभिन्न क्षेत्रका नागरिक, युवाहरू तथा परिवर्तनप्रेमी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमबारे जानकारी दिँदै बालेन समर्थन मञ्चका प्रतिनिधि राहुल साहले भने, “यो कार्यक्रम कुनै व्यक्ति वा संस्थाविरुद्ध लक्षित होइन। हामी सकारात्मक परिवर्तन, सुशासन र काम गर्ने राजनीतिक संस्कृतिको समर्थनमा एकजुट भएका हौँ।
नागरिकको चेतना र सहभागिताबाट नै देशमा वास्तविक परिवर्तन सम्भव छ।” उनले थपे, यो अभियान आजको नागरिक भेलामा मात्र सीमित नरही आगामी निर्वाचनसम्म शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले निरन्तर अघि बढाइनेछ।
कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको आवश्यक समन्वय रहेको जनाइएको छ।









