स्वतन्त्र आवाज दबाउन बल प्रयोग, बर्दिवासमा लोकतन्त्रकै अपमान


बर्दिवास (महोत्तरी) — बर्दिवास जनता बहुमुखी क्याम्पसमा क्याम्पस प्रशासनको अनुमति बिना राजनीतिक दलनिकट विद्यार्थी संगठनद्वारा कार्यक्रम आयोजना गरिएको भन्दै स्वतन्त्र युवाहरूले कडा आपत्ति जनाएका छन्। क्याम्पसलाई राजनीतिक अखडाको रूपमा प्रयोग गरिएको आरोप लगाउँदै बर्दिवास स्वतन्त्र युवाले घटनालाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको गम्भीर आघात भनेका छन्।
२०८२ माघ ३० गते बुधबार क्याम्पस परिसरमा भएको उक्त कार्यक्रममा न्यून संख्यामा विद्यार्थीको उपस्थिति भए पनि राजनीतिक दलका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको बताइएको छ। स्वतन्त्र युवाका अनुसार कार्यक्रम शैक्षिक उद्देश्यभन्दा फरक, खुला रूपमा दल विशेषको चुनावी गतिविधिजस्तो देखिएको थियो।
विज्ञप्तिमा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवसहितका नेताहरूको उपस्थितिमा स्वतन्त्र युवा अभियन्ता कापिल रिसालमाथि सार्वजनिक स्थलमै हातपात, गालीगलौज तथा धम्की दिइएको आरोप लगाइएको छ। घटनापछि प्रहरीद्वारा बल प्रयोग गरी रिसाललाई करिब ७ घण्टा इलाका प्रहरी कार्यालय बर्दिवासमा नियन्त्रणमा राखिएकोप्रति पनि स्वतन्त्र युवाले कडा भर्त्सना गरेका छन्।
स्वतन्त्र युवाको दाबीअनुसार उक्त कारबाही राजनीतिक अहंकारबाट प्रेरित थियो र पीडितलाई संरक्षण गर्नुको सट्टा दमन गर्ने शैली अपनाइयो। यस घटनाले क्याम्पस प्रशासनको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।
विज्ञप्तिमार्फत स्वतन्त्र युवाले क्याम्पसलाई शान्त, सुरक्षित र शैक्षिक क्षेत्रका रूपमा कायम राख्न माग गर्दै आगामी दिनमा कुनै पनि राजनीतिक दल वा दलनिकट संगठनले क्याम्पस परिसरमा गतिविधि गरे त्यसको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने चेतावनी दिएका छन्।
स्वतन्त्र सोच, अभिव्यक्ति र नागरिक हस्तक्षेप दबाउने कुनै पनि प्रयास स्वीकार्य नहुने जनाउँदै अन्याय, दमन र राजनीतिक गुन्डागर्दीविरुद्ध शान्तिपूर्ण तर सशक्त संघर्ष जारी राख्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको