२५ पुस, महोत्तरी-मिथलेश सिंह। महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे सङ्क्रान्ति पर्वको भव्य तयारी भइरहेको छ। मिथिलाञ्चलमा यो पर्व तिला सङ्क्रान्ति नामले पनि प्रसिद्ध छ। स्थानीय लोकभाषामा तिला सङ्क्रान्ति वा कतैकतै तिला सङ्क्रायत भनेर चिनिने यो पर्व विशेष उत्साहका साथ मनाइन्छ।
पर्वका अवसरमा मिथिलाका घर-घरमा चिउरा, भूजा र तिलमा सख्खर मिसाएर बनाइएको लड्डु खाने परम्परा छ। साथै चामल, दाल, घीउ र तरकारी एकैसाथ मिसाएर बनाइने खिचडी पनि प्रमुख परिकारका रूपमा सेवन गरिन्छ। यसका लागि अहिले मिथिलाञ्चलका सर्वसाधारण सख्खर, चिउरा, भूजा, तिल, अदुवा, विशेष प्रकारको चामल, उरिद र कुर्थीको दाल, घीउ, तरुल तथा अन्य तरकारी जुटाउन व्यस्त छन्।
किनमेलका लागि महोत्तरी सदरमुकाम जलेश्वरसहित मिथिलाका विभिन्न हाटबजारमा चहलपहल बढेको छ। पर्वको तयारीस्वरूप मिथिलाञ्चलमा आठ-दश दिन पहिलेदेखि नै तिल, चिउरा, भूजा र सख्खर ल्याएर मिथिलानी महिलाहरूले लड्डु बनाउने चलन छ। यसले गर्दा गाउँ-बस्तीमा पर्वको रौनक एक साता अगावै सुरु हुने गरेको देखिन्छ।
सङ्क्रान्तिका दिन बिहानै घरका सबैभन्दा ज्येष्ठ सदस्यले नित्यकर्म तथा स्नान गरी अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद तयार पार्ने र कुल देवतालाई चढाउने परम्परा छ। त्यसपछि सोही प्रसाद घरका सबै सदस्यलाई बाँड्दै “हमर तिल बहवे” अर्थात् ‘आउँदो दिनमा साथ दिने र भनेको मान्ने’ आशीर्वाद दिने चलन रहेको छ।
यो कर्म संस्कार पुस्तान्तरणको प्रतीक हो, जसले मिथिलाको मौलिक संस्कार र संस्कृति भावी पुस्तासम्म जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।









