२३ पुस, काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिका-३ स्थित जंगलमा दुर्घटनामा परेको बस पिकनिक सकेर फर्कंदै गरेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मंगलबार साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो। सडकबाट करिब सय मिटर तल खसेको बस रुखमा अड्किएको अवस्थामा फेला परेको र लगत्तै प्रहरी टोलीले उद्धार कार्य सुरु गरेको उनले जानकारी दिए।
उनका अनुसार बसमा ३५ देखि ४० जना सवार थिए। ‘नेचर हब’ नामक संस्थाका कर्मचारीहरू पिकनिक मनाएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ। घाइतेहरूको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेल लगायतका अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले बताए।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









