२३ पुस, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्।
मधेश प्रदेशमा रहेका ४ राष्ट्रिय सभा सिटका लागि कांग्रेस-एमाले गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी परेको हो।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ‘अन्य’ समूहबाट उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावक लोसपाका मधेश प्रदेशसभा सदस्य जयनुल राइन र समर्थक रानी शर्मा तिवारी रहेका छन्। ठाकुरको उम्मेदवारीलाई जसपा नेपालको समेत समर्थन रहेको छ।
त्यसैगरी जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासले उम्मेदवारी दर्ता गराएका हुन्। चौधरी सप्तरी, साह सिरहा र दास धनुषा जिल्लाकी हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट दलित कोटामा शम्भु पासवान, अल्पसंख्यकतर्फ रामनन्दन प्रसाद, अन्यतर्फ लक्ष्मण पौडेल र मधेशी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै कांग्रेस-एमाले गठबन्धनबाट दलित कोटामा कांग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यक कोटामा कांग्रेसकै रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी छन्।
मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।









