२२ पुष, रौतहट। रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा शंकास्पद सवारी साधनको चेकजाँच अभियान तीव्र पारेको छ। चेकजाँचको पहिलो दिन सोमबार शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारी साधनमध्ये कागजपत्र नपुगेका ४ वटा जिप र १२ वटा मोटरसाइकल रहेका छन्। ती सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी रबिन कार्कीले जानकारी दिए।
प्रहरीले सवारी साधनका कागजात, प्रयोगको अवस्था तथा अन्य शंकास्पद पक्षबारे गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समय रौतहटमा चोरीका सवारी साधनको संख्या बढ्दै गएको विशेष सूचनाका आधारमा तथा नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै चेकजाँच अभियान सञ्चालन गरिएको एसपी कार्कीले बताए।
भारतसँग सीमा जोडिएको जिल्ला भएका कारण भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्ने तर फिर्ता नजाने, साथै ती सवारी साधन गैरकानुनी गतिविधिमा प्रयोग हुँदै आएको पाइएको प्रहरीले जनाएको छ। यसलाई नियन्त्रणमा लिन आगामी दिनमा पनि चेकजाँच अभियानलाई निरन्तरता दिइने प्रहरीले स्पष्ट पारेको छ।









