काठमाडौं। सञ्जाल बनाएर पिरामिड शैलीमा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले ‘एसएमसी’ नामक एप्लिकेसनमार्फत हजारौं सर्वसाधारणबाट करोडौं रकम ठगी भएको तथ्य सार्वजनिक गरेको हो।
साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार उक्त घटनामा संलग्न ११ जनालाई विभिन्न समयमा पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा एसएमसिएन एड्भरटाइजिङ सर्भिस सेन्टर प्रालिको नाममा चितवनको खैरहनी नगरपालिका-७ मा कार्यालय खोली ठगी धन्दा सञ्चालन गरिएको खुलेको छ।
एसपी अवस्थीका अनुसार कम्पनीको नाम विज्ञापनसँग सम्बन्धित देखिए पनि वास्तविक उद्देश्य भने विशुद्ध रूपमा ठगी गर्नु रहेको पाइएको छ। त्यसका लागि उनीहरूले ‘एसएमसी’ नामक एप नै निर्माण गरी नेटवर्क विस्तार गरेका थिए। हालसम्म उक्त एपमा ७० हजारभन्दा बढी नागरिक जोडिएको देखिएको छ।
ठगी गर्नका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता प्रमाणपत्र, भौतिक कार्यालय स्थापना तथा अन्तर्राष्ट्रिय फिल्म कम्पनी युनिभर्सल, वार्नर ब्रोज र डिज्नीसँग सहकार्य रहेको भनी झूटा प्रचार गरिएको थियो। चलचित्रका विज्ञापन हेरेबापत पैसा पाइने भन्दै सर्वसाधारणलाई आकर्षित गरिएको अनुसन्धानमा खुलेको छ।
विश्वासमा लिएर पिरामिड शैलीमा कमिसनको लोभ देखाइएको एसपी अवस्थीले बताए। उनका अनुसार सदस्यलाई तीन तहमा विभाजन गरिएको थियो। लेभल ‘ए’ मा १२ प्रतिशत कमिसन र दैनिक कामको ५ प्रतिशत, लेभल ‘बी’ मा ४ प्रतिशत कमिसन र दैनिक कामको २ प्रतिशत तथा लेभल ‘सी’ मा १ प्रतिशत कमिसन र दैनिक कामको १ प्रतिशत आम्दानी हुने भनिएको थियो।
यसरी कुनै वास्तविक व्यापार नगरी नयाँ सदस्यको पैसाबाट पुरानालाई प्रतिफल दिने पोन्जी स्किम अपनाइएको प्रहरीको निष्कर्ष छ। साथै ‘ब्ल्याक रक’ जस्ता काल्पनिक कोषमा रकम राखे दैनिक १.२ प्रतिशतसम्म प्रतिफल दिने भन्दै ठगी गरिएको पाइएको छ।
यस सञ्जालमार्फत आफू ठगिएको भन्दै २५५ जनाले साइबर ब्युरोमा उजुरी दिएका छन्। हालसम्मको तथ्यांकअनुसार १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ बराबरको ठगी भएको देखिएको छ।
ठगी धन्दामा संलग्नमध्ये काठमाडौंमा बस्दै आएका चिनियाँ नागरिक ही-जियाङजियाङ पनि पक्राउ परेका छन्। उनीसँगै रामेछापका मिलन श्रेष्ठ, तनहुँका सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवनका सोनम खातुन, काठमाडौंकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नासिर मिया अन्सारी, सायरा खातुन र बाराका राम निवास प्रसाद पक्राउ परेका हुन्।
उनीहरूमाथि संगठित अपराध निवारण ऐन, २०७० तथा मुलुकी अपराध संहिता, २०७४ अनुसार अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
साइबर ब्युरोले एसएमसी एपमार्फत ठगिएको भए डिजिटल स्क्रिनसट, बैंक ट्रान्सफर भौचरलगायत प्रमाणसहित नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन अनुरोध गरेको छ। साथै कमिसनको लोभमा यस्ता पिरामिड शैलीका सञ्जालमा संलग्न भएकाहरूलाई तुरुन्तै बाहिरिन आग्रह गरिएको छ।
घरमै बसेर भिडियो हेरेर पैसा कमाउने, थोरै लगानीमा उच्च प्रतिफल दिने जस्ता विज्ञापनमा विश्वास नगर्न समेत प्रहरीले चेतावनी दिएको छ। हाल उक्त एसएमसी एप प्लेस्टोरबाट हटाइसकेको जनाइएको छ।









