२१ पुस, महोत्तरी – महोत्तरीको बलवा नगरपालिका-११ मा सोमबार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरको ज्यान गएको हो।
लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको ट्रकले ठाकुरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मृतक ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।









