काठमाडौं। जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको मिति तय गरेको छ। बैठकले २०८२ साल चैत २० र २१ गते महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
मध्य बानेश्वरस्थित जनमत पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा सम्पन्न बैठकले महाधिवेशनको स्थान पछि तोकिने जानकारी दिँदै, महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति गठन गरेको छ।
बैठकको निर्णयअनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा राष्ट्रिय उपाध्यक्ष मा. ई. बसन्त कुमार कुशवाहा, निर्वाचन समितिको संयोजकमा राष्ट्रिय उपाध्यक्ष ई. नरेन्द्र प्रसाद चौधरी तथा विधान समिति तथा राजनीतिक प्रतिवेदन समितिको संयोजकमा राष्ट्रिय सचिव मा. संजय कुमार यादव तोकिएका छन्।
यस्तै, बैठकले गैरआवासीय मधेशी संघ (NRMA) अन्तर्राष्ट्रिय समितिको महाधिवेशन तय गरिएको कार्यतालिकाअनुसार सञ्चालन गर्ने निर्णय पनि गरेको छ। कार्यतालिकाअनुसार २०२६ फेब्रुअरी १ गते अनलाइन मतदान गरिनेछ भने फेब्रुअरी ६ गते निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण गराइनेछ।
जनमत पार्टीले महाधिवेशनमार्फत पार्टी संगठनलाई थप सुदृढ, लोकतान्त्रिक र समावेशी बनाउने उद्देश्य लिएको जनाएको छ।









