१९ पुस, सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका-२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ।
ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको विनाको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
स्थानीयका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलभित्र रूख काटिएको जस्तो आवाज सुनेपछि केही व्यक्ति त्यतातर्फ गएका थिए । तर दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र उनको मोबाइल फोन ‘स्विच अफ’ भएपछि परिवारका सदस्य तथा स्थानीयले खोजी सुरु गरेका थिए।
खोजतलासका क्रममा जंगलभित्र महतोको टाउको अलग गरिएको अवस्थामा शव फेला परेको डीएसपी राईले बताए। उनका अनुसार हालसम्म टाउको फेला नपरेको र खोजी कार्य जारी रहेको छ ल।
“घटनास्थलमा शवको मुचुल्का भइरहेको छ। टाउकोको खोजी पनि भइरहेको छ,” डीएसपी राईले जानकारी दिए।
घटनाको प्रकृति गम्भीर देखिएपछि साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।









