१९ पुस, महोत्तरी – मधेशका अधिकांश बस्तीको पुछारमा विपन्न समुदायको बसोबास हुन्छ। सडक नै आँगन बनेका साना छाप्रा, वर्षातमा प्लास्टिकले टालटुल गरिएका छाना र हिउँदको कठ्यांग्रिने जाडो छल्न आगो (घुर) नै सहारा-यिनै कथाले विपन्न बस्तीको जीवन बयान गर्छ।
विपन्नमध्ये पनि सबैभन्दा पछाडि परेका डोम र मुसहर समुदायका परिवारका लागि बिहान-साँझको छाक जुटाउनु चुनौतीपूर्ण छ। मजदुरी नपाएको दिन मुसहर बस्तीका बासिन्दाले भोकै सुत्नु सामान्यजस्तै बनेको छ।
यही कठिन परिस्थितिबीच महोत्तरीको पिपरा गाउँपालिका-७ दनौलीको पुछारमा रहेको १० परिवारको मुसहर बस्तीबाट २२ वर्षीय पवनदेव माझी पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन गर्न सफल भएका छन्।
पवनदेवले मेडिकल अध्ययनका लागि काठमाडौंमा तयारी गर्न दुई लाख रुपैयाँ ऋण लिएको बताउँछन्। उनकी आमा सिर्जना देवी गाउँमै मजदुरी गर्छिन् भने बुवा शिवनारायण माझी वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन्। बुवाले पठाउने पैसाले घरखर्च मात्रै धान्न मुस्किल हुने भएकाले पढाइ खर्च सम्भव नभएको पवनदेवको भनाइ छ।
अघिल्लो वर्ष (२०८१) छात्रवृत्ति पाएर बीडीएस पढ्न काठमाडौं जाने तयारी गरेका उनले एमबीबीएसमै प्रयास गर्ने निर्णय गरेका थिए।
‘प्रवेश परीक्षाका लागि मेरो तयारी पर्याप्त थिएन। गाइड गर्ने कोही थिएन,’ पवनदेव सम्झिन्छन्, ‘नाइट बसमा काठमाडौं जाँदै गर्दा राम्रो गाइड पाए एमबीबीएसमा नाम निकाल्न सक्छु भन्ने विश्वास जाग्यो।’
घरबाट प्रतिमहिना ३०० रुपैयाँ ब्याजदरमा दुई लाख रुपैयाँ ऋण लिएर काठमाडौं बसेर कोचिङ पढेका उनले एक वर्षपछि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए।
एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाएपछि कलेजमा भर्ना हुन मुसहर समुदायका अभियन्ताहरूले चन्दा उठाएर सहयोग गरेका थिए। महोत्तरीसँग जोडिएको धनुषाको गोगलप्रसाद नमूना माध्यमिक विद्यालय, बसहियाबाट कक्षा १२ उत्तीर्ण पवनदेवले तीन पटक प्रवेश परीक्षा दिएर अन्ततः पूर्ण छात्रवृत्ति हात पारेका हुन्।
‘पहिलो पटक परीक्षा पास गरेँ, तर छात्रवृत्ति पाइएन। दोस्रो पटक बीडीएस, बीपीएचलगायत विषयमा छात्रवृत्ति आयो। तर मेरो लक्ष्य एमबीबीएस नै थियो,’ उनले भने, ‘काठमाडौंमा बसेर तयारी गरेपछि तेस्रो प्रयासमा सफल भएँ।’
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन मात्रै ८३ हजार रुपैयाँ खर्च भएको उनले बताए। आवत-जावत र भर्नाका लागि आवश्यक रकम चन्दा सङ्कलनबाट जुटे पनि आगामी ६ वर्षको अध्ययन खर्च जुटाउनु ठूलो चुनौती बनेको छ।
‘होस्टेल, खाना, पाठ्यपुस्तक र व्यक्तिगत खर्च धान्ने अवस्था घरपरिवारको छैन,’ उनले भने, ‘डाक्टर बन्ने सपना पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता छ।’
कतारमा रहेका बुवाले खर्च कटाएर पठाउने मासिक २० हजार रुपैयाँले घरपरिवार जसोतसो चलिरहेको छ। खर्च व्यवस्थापनका विषयमा कलेजका सिनियरहरूसँग छलफल गरिरहेको पवनदेवले बताए।
छोराले डाक्टर पढ्न सरकारबाट आर्थिक सहयोग पाओस् भन्ने आमाको चाहना छ। धरान पठाउने भाडा खर्च जुटाउन घरमा रहेका पुराना पाठ्यपुस्तक बोरा र झोलाबाट छानीछानी बेचिरहेको उनले बताइन्।
‘मजदुरी गरेर एक छाक खाएर पनि छोरालाई पढाएँ। माइती र आफन्तबाट कर्जा लिएँ,’ आमा सिर्जना देवी भन्छिन्, ‘छोरालाई पढाउँदा ऋणको भारी बोकेकी छु।’
मुसहर बस्तीमै बसेर कक्षा १२ सम्म अध्ययन गरी पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न सफल भएपछि दनौलीको मुसहर बस्तीमा खुसीयाली छाएको छ। स्थानीयले पवनदेवलाई उदाहरणीय पात्रका रूपमा प्रशंसा गरिरहेका छन्।









