देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने : सञ्चारमन्त्री खरेल


१९ पुस, चितवन – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको निरीक्षणपछि आज आयोजित भेटघाट कार्यक्रममा मन्त्री खरेलले हाल सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यको थालनी गरिसकेको जानकारी दिए।

पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने उल्लेख गर्दै उनले नेपाल पत्रकार महासङ्घ चितवन शाखा अन्य शाखाको तुलनामा व्यवस्थित र राम्रो रहेको बताए।

पत्रकारहरूको समस्या समाधानका लागि वर्तमान सरकारले केही आधारशीला तयार गरिरहेको उल्लेख गर्दै मन्त्री खरेलले लोक कल्याणकारी विज्ञापनलाई सही तरिकाले सबै सञ्चारमाध्यमसम्म पुर्‍याउन आवश्यक रहेको बताए।
‘लोक कल्याणकारी विज्ञापन सबै सञ्चारमाध्यमले पाउने व्यवस्था हुनुपर्छ,’ उनले भने।

निरीक्षणका क्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था, चुनौती र समस्या बारे मन्त्री खरेललाई जानकारी गराएका थिए।

यसै क्रममा मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजन चितवनका समाचारदाता अनिल ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका थिए।

ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रूपमा काम गर्न आवश्यक सहजीकरणका लागि आफू तयार रहेको मन्त्री खरेलले बताए।

पत्रकार ढकाल गत असोज महिनामा मुग्लिन-नारायणगढ सडकखण्डमा समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनामा घाइते भएका ढकालको स्वास्थ्य अवस्थामा हाल क्रमिक सुधार हुँदै गएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको