१८ पुस, बर्दिवास, महोत्तरी – जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम बर्दिवासमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य नागरिक–प्रहरी सम्बन्ध सुदृढ बनाउँदै सुरक्षा, सेवा प्रवाह र सुशासनका विषयमा प्रत्यक्ष संवाद गर्नु रहेको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्री सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
सार्वजनिक सुनुवाइमा नागरिकहरूले शान्ति–सुरक्षा, लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकासँग सम्बन्धित अपराध, घरेलु हिंसा, सेवाग्राहीमैत्री प्रहरी सेवा, उजुरी दर्ता प्रक्रिया लगायतका विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझावहरू राखेका थिए। सम्बन्धित निकायका प्रमुखहरूले स्पष्ट जवाफ दिँदै समाधानका उपायबारे जानकारी गराएका थिए।
कार्यक्रम सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी यादवले सार्वजनिक सुनुवाइ नागरिक र प्रशासनबीच विश्वासको सेतु भएको उल्लेख गर्दै समस्या समाधानमा प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको र सबै निकायले समन्वयमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
प्रधान अतिथि नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले वर्दिवास नगरपालिकामा आफ्नो नाममा कुनै क्रसर उद्योग रहेको प्रमाण देखाउन खुला चुनौती प्रस्तुत गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा फैलिएका आधारहीन आरोपहरू अस्वीकार गर्दै कानुनी प्रमाणसहित देखाउनेलाई आफू कानूनी कारबाही भोग्न तयार रहेको बताउनुभयो।
नगर प्रमुख क्षेत्रीले आफ्नो निर्वाचनपछि अवैध क्रसर उद्योग बन्द गर्ने वचन पूरा गरेको र आगामी दिनमा पनि कानुनी तथा वातावरणीय मापदण्डअनुसार क्रसर उद्योग संचालनमा निगरानी जारी रहने स्पष्ट गर्नुभयो। उहाँले अवैध क्रसर उद्योग, ढुंगा–गिट्टी उत्खनन तथा वातावरण प्रदूषण गर्ने गतिविधिमाथि नगरपालिकाले कडाइका साथ अनुगमन गरिरहेको दाबी गर्नुभयो।
कार्यक्रममा प्रहरी उपरीक्षक हेरम्भ शर्माले नागरिकका प्रश्नको जवाफ दिँदै हालसम्म भएका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराए र सुझाव कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले प्रशासनिक पारदर्शिता बढेको र आफ्ना कुरा खुलस्त राख्न सहज भएको धारणा व्यक्त गरे।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा, जिल्ला प्रशासन कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय वर्दिवासको समन्वयमा सम्पन्न भएको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरि नागरिक–प्रशासन सम्बन्ध अझ सुदृढ बनाइनेछ।









