१८ पुस, गाैशाला। महोत्तरीको रामगोपालपुर नगरपालिका पछिल्ला केही वर्षयता विकासको जीवित उदाहरण बनेको छ। यहाँ शिक्षा, कृषि, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण र स्वरोजगारमा देखिएको परिवर्तनले समुदायमा आशा, ऊर्जा र आत्मनिर्भरता फैलाएको छ।
स्थानीय आवश्यकता र चुनौतीलाई ध्यानमा राखेर सञ्चालन गरिएको स्थानीय अधिकार कार्यक्रम (LRP–41) ले केवल परियोजना मात्र नभई दीर्घकालीन सामाजिक परिवर्तनको माध्यमको रूपमा काम गरेको छ। यस कार्यक्रमले शिक्षा, महिला स्वरोजगार, श्रमिक अधिकार, सुख्खा प्रभावित क्षेत्रको कृषि सशक्तीकरण र सामाजिक समावेशीकरणलाई एउटै धारा मार्फत अघि बढाउँदै रामगोपालपुरमा वास्तविक विकासको उदाहरण प्रस्तुत गरेको छ।
विद्यालय सुधार: उज्यालो भविष्य निर्माण
रामगोपालपुर नगरपालिका –९ गोठबनौलीस्थित श्री दोरिक जनता आधारभूत विद्यालयको चार कोठे, दुई तले पक्की भवनको उद्घाटन समारोहमा मधेस प्रदेश सभामुख राम अशिष यादव विशेष अतिथिको रूपमा उपस्थित थिए।
उद्घाटन समारोहमा नगरप्रमुख रामदुलार साह, उप–प्रमुख रीना देवी यादव, प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, रतौली युवा क्लबका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो। सूर्यको उज्यालोले नयाँ भवनमा चमक बोक्दै थियो र बालबालिकाहरूको उत्साहपूर्ण हाँसो समारोहलाई अझ जीवन्त बनाएको थियो।
सभामुख यादवले उद्घाटन गर्दै भने,
“सामुदायिक विद्यालयको भौतिक पूर्वाधार मजबुत हुँदा गुणस्तरीय शिक्षा सुनिश्चित हुन्छ। यस भवनले बालबालिकालाई सुरक्षित र व्यवस्थित सिकाइ वातावरण प्रदान गर्दै दीर्घकालीन सामाजिक परिवर्तनको आधार तयार गर्नेछ।”
नगरप्रमुख साहले “भौतिक पूर्वाधार बिना गुणस्तरीय शिक्षा सम्भव छैन। यो भवनले विद्यार्थीहरूको सिकाइ वातावरण मात्र सुधार्ने होइन, उज्यालो भविष्य निर्माणमा ठोस आधार तयार गर्नेछ। समुदायको सक्रिय सहभागिताले यस परियोजनाको सफलता सुनिश्चित गरेको छ।”
भवनको अनुमानित लागत रु. ७३ लाख ९३ हजार रहेको छ र निर्माण कार्य २०८२ मङ्सिर मसान्तभित्र सम्पन्न भएको छ। विधालयका प्रधानध्यापक सत्यनारायण यादवले भने,
“पहिले विद्यार्थीहरू असहज कक्षा कोठामा पढ्न बाध्य थिए। अब नयाँ भवनले सिकाइ वातावरण सुधार गरेको छ, साथै विद्यार्थीहरूको मनोबल र उत्साह पनि बढाएको छ।”
विद्यार्थी प्रिया साहले खुशी हुँदै भनिन्, “अब हामी सुरक्षित कक्षामा पढ्छौं। पढ्न सजिलो भएको छ र विद्यालयमा आउँदा रमाइलो लाग्छ। हाम्रो सिकाइ वातावरण पहिलेभन्दा धेरै राम्रो भएको छ।”
यस्तै स्थानिय अधिकार कार्यक्रम (LRP-41) अन्तर्गत बालकेन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने उद्देश्य सहित शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७ लाख २० हजार ५ सय ७० रुपैयाँ प्राप्त भएको रामगोपालपुर नगरपालिका – ५ स्थित श्री जनता आधारभूत (०-५) विद्यालय कन्चनपुरमा विधालयका प्रधानध्यापक जगरनाथ साहले बताए।
उक्त सहयोग रकमबाट बालविकास दुई भवनकाे विधुती करण, जस्तापाता चेन्ज, झ्याल ढाेका चेन्ज, रंग राेगन, पलास्टर, भुई ढलान, बालविकासमा बसाइ व्यवस्थापन, शिक्षन सिकाय सामाग्री, मुल गेटकाे मर्मत सभार, पक्की कम्पाउण्डवाल ३ फिट ग्रिल वाल, मर्मत गरि घेराबेरा समेत गरिएको विधालयका प्र.अ. जगरनाथ साहले बताउनु भयो।
महिला सशक्तीकरण र स्वरोजगार आत्मनिर्भरता तर्फ कदम महिला सशक्तीकरणका क्षेत्रमा LRP–41 कार्यक्रमले ठोस प्रभाव देखाएको छ। रामगोपालपुरका विभिन्न वडाका ३३ जना श्रमिक महिलाहरूले न्यूनतम ज्याला, श्रमजन्य हिंसा र सामाजिक सुरक्षा जस्ता मुद्दा उठाउँदै १३ बुँदे मागपत्र नगरपालिकामा बुझाएका थिए।
नगरप्रमुख साहले “महिलाहरूको यो पहिचानले समाजमा दीर्घकालीन प्रभाव पार्नेछ। आगामी योजनाहरूमा उनीहरूको आवश्यक बजेट सुनिश्चित गर्नेछौं।”
कार्यक्रम अन्तर्गत १३ जना महिलालाई स्वरोजगारका लागि नगद अनुदान हस्तान्तरण गरिएको थियो। महिलाहरूले किराना पसल, सिलाइकटाइ, ब्यूटी पार्लर, चटपटे पसल जस्ता साना व्यवसाय सञ्चालनका लागि जनही रु. २०–४० हजार प्राप्त गरे।
वडा नं. ५ कञ्चनपुरकी निना देवी मण्डलले भने, “सहयोगपछि म नियमित रूपमा किराना पसल सञ्चालन गर्दै आएको छु र हाल राम्रो आम्दानी गर्न सफल भएकी छु। मेरो र मेरो श्रीमानकाे सहकारी संस्थामा खाता खोलेर दैनिक बचत गर्दै आएकी छु। यसले हाम्रो परिवारको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको छ। पहिले हामी खर्च व्यवस्थापन गर्न कठिनाईमा थियौं, अहिले वित्तीय अनुशासन अपनाएका छौं। यसले परिवारमा आत्मनिर्भरता र सशक्तिकरणको भावना बढाएको छ।”
अन्य महिलाहरूले पनि स्वरोजगारले परिवारमा आर्थिक स्वतन्त्रता, निर्णय प्रक्रियामा सहभागिता र आत्मविश्वास बढाएको अनुभव साझा गरे।
सुख्खा प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी र कृषक सशक्तीकरण सुख्खा प्रभावित बस्तीहरूमा ह्यान्डपम्प मार्फत सुरक्षित खानेपानीको पहुँच विस्तार गरिएको छ। कृषक समूहमा जैविक खेती र बिउविजन वितरण कार्यक्रमले उत्पादन क्षमता, आत्मनिर्भरता र सामाजिक एकता बढाएको छ।
स्थानीय कृषक शक्तिशाली कृषक समूहका अध्यक्ष सुनिता देवी मण्डलले भने, “पहिले हाम्रो उत्पादन अस्थिर थियो । अब जैविक खेती र प्रशिक्षणपछि उत्पादन बढेको छ र परिवारको आयमा सुधार आएको छ। युवाहरू पनि कृषिमा सक्रिय भएका छन्। सुरक्षित पानी र आधुनिक खेती अभ्यासले हाम्रो जीवनशैली नै परिवर्तन गरेको छ।”
बालबालिकाको स्वास्थ्य र परिवारको पोषण स्तरमा सुधार आएको छ। कृषक समूहले आत्मनिर्भरता र सामाजिक सशक्तीकरण अनुभव गरेको छ।
राष्ट्रिय धान दिवस: परम्परा, संरक्षण र खाद्य सुरक्षा
रामगोपालपुर–५ कञ्चनपुरमा राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा धान रोपाइँ कार्यक्रम सम्पन्न भएको थियो । “धान बालीमा तीव्रता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित स्थानीय कृषक समूह, जनप्रतिनिधि र रतौली युवा क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा परम्परागत धान रोपाइँ र आधुनिक कृषि अभ्यासको संयोजन मार्फत समुदायमा खाद्य सुरक्षा र कृषि संस्कृतिको संरक्षणको संदेश प्रवाह गरिएको थियो ।
सहभागी कृषकहरूले भने, “हाम्रो कृषि परम्परा र आधुनिक अभ्यासको संयोजनले आय बढाउने मात्र नभई, हाम्रो संस्कृति र आत्मनिर्भरता पनि सुरक्षित भएको छ।”
समग्र प्रभाव र वर्तमान अवस्था LRP-41 कार्यक्रमले शिक्षा, कृषि, महिला सशक्तीकरण, स्वरोजगार र सामाजिक समावेशीकरणलाई एउटै धारा मार्फत अघि बढाउँदै रामगोपालपुरमा समग्र र दीर्घकालीन परिवर्तनको स्पष्ट उदाहरण प्रस्तुत गरेको छ ।
विद्यालयमा गुणस्तरीय सिकाइ वातावरण कायम भएको छ, बालबालिकाको सिकाइ र उपस्थितिमा सुधार आएको छ। महिला स्वरोजगारले परिवारमा आर्थिक स्वतन्त्रता र निर्णय प्रक्रियामा सहभागिता बढाएको छ। कृषक समूहले सुरक्षित पानी र जैविक खेती अभ्यासमार्फत उत्पादन वृद्धि, आत्मनिर्भरता र सामाजिक सशक्तीकरण अनुभव गरेका छन् ।
स्थानीय सरकार, गैरसरकारी संस्था र समुदायबीचको सक्रिय सहकार्यले रामगोपालपुरलाई समृद्ध, आत्मनिर्भर र विकासशील समुदायको उदाहरण बनाएको छ । LRP–41 कार्यक्रमले केवल दीर्घकालीन परिवर्तन मात्र होइन, समाजमा सकारात्मक ऊर्जा र आत्मविश्वासको प्रवाह पनि सुनिश्चित गरेको छ ।









