राष्ट्रिय धोती दिवस नयाँ पुस्तामा संस्कृतिप्रतिको गर्व जगाउने महाउत्सव हो : डा. जयकान्त राउत


१७ पुस, राजविराज, सप्तरी – चन्दन रजक। राष्ट्रिय धोती दिवसको अवसरमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले राष्ट्रिय धोती दिवस केवल औपचारिक कार्यक्रम मात्र नभई इतिहास, संस्कृति र आत्मसम्मानसँग जोडिएको महाउत्सव भएको बताउनुभएको छ।

आज सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय धोती दिवसले समाजमा एकता, आपसी सम्मान र स्वाभिमानको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार विश्वव्यापीकरण र आधुनिकताको यो युगमा अघि बढ्दै गर्दा आफ्ना मौलिक पहिचान र संस्कृतिलाई बिर्सिनु हुँदैन।

डा. राउतले राष्ट्रिय पोशाक धारण गर्नु पछाडि फर्किनु नभई आफ्नै पहिचानसहित विश्वसामु अघि बढ्नु भएको स्पष्ट गर्नुभयो। “संस्कृति जोगाउनु विकासको बाधक होइन, बरु विकासको आधार हो,” उहाँले जोड दिनुभयो।

उहाँले जनमत पार्टी सदन, सरकार र सडक-तीनवटै मोर्चाबाट सबै समुदायको अधिकार, पहिचान, संस्कृति र स्वाभिमानको संरक्षणका लागि निरन्तर संघर्षरत रहेको पनि बताउनुभयो। बढ्दो आधुनिकतासँगै आफ्नो मौलिकता नछोडी अघि बढ्न उहाँले सम्पूर्ण युवापुस्तालाई विशेष आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय पोशाकमार्फत आफ्नो सांस्कृतिक पहिचान झल्काउँदै राष्ट्रिय धोती दिवसलाई उत्साहपूर्वक मनाएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको