१७ पुस, विराटनगर। सुनसरीको कोशी गाउँपालिका-१ लौकही नजिक सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित भिडले सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको छ।
लौकहीको सीमावर्ती क्षेत्रमा रहेको बोर्डर आउट पोष्ट (बीओपी)मा ढुंगामुढासहित आक्रमण भएको हो। घटनापछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई संयमता अपनाउन आग्रह गरिरहेका छन्। बीओपी चारैतिरबाट घेराबन्दी गरी आक्रमण भएपछि प्रहरीले बल प्रयोगसमेत गरेको जनाइएको छ। स्थानीय प्रशासनले पीडित पक्षलाई संयम अपनाउँदै वार्तामा आउन आग्रह गरेको छ।
बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो। उनी भारतबाट सामान ल्याएर स्थानीय बजारमा बिक्री गर्दै आएका थिए। सशस्त्र प्रहरीले तस्करको समूहसँग भएको गोली हानाहानका क्रममा विजय साहलाई गोली लागेको दाबी गर्दै आएको छ।
स्थानीयवासीले सुरु गरेको प्रदर्शन क्रमशः अराजक बन्दै गएपछि लौकही क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ। सीमा क्षेत्रबाट हुने आवतजावत बन्द गरिएको छ भने पूर्व-पश्चिम राजमार्गअन्तर्गत लौकही खण्ड पनि अवरुद्ध भएको छ। सवारी साधनहरू वैकल्पिक मार्ग चतराको हुँदै सञ्चालन गरिएको प्रहरीले जनाएको छ।









