महोत्तरी। महोत्तरी जिल्लाको मिथिला माध्यमिकी परिक्रमा सडक खण्डअन्तर्गत ध्रुव कुण्ड स्थानदेखि कञ्चनबन जाने सडकमा पर्ने पररिया नजिकको पथरा खोलाको पुल करिब ७ वर्षदेखि अलपत्र अवस्थामा रहँदै आएको थियो। पुल निर्माण नहुँदा मिथिला परिक्रमामा सहभागी श्रद्धालु (परिक्रमा बासी) तथा स्थानीय बासिन्दाहरूलाई दैनिक आवत-जावतमा गम्भीर कठिनाइ भोग्नुपरेको यथार्थ सबैका सामु स्पष्ट थियो।
दुर्भाग्यवश, महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ र २ बाट निर्वाचित जनप्रतिनिधिहरूको पर्याप्त ध्यान यस गम्भीर समस्यातर्फ पुग्न नसक्दा पुल निर्माण लामो समयसम्म ओझेलमै रह्यो। वर्षौंदेखि स्थानीयवासीको आवाज उठिरहे पनि ठोस पहल नहुँदा समस्या ज्यूँका त्यूँ रहँदै आएको थियो।
तर जनताको समस्यालाई आफ्नै पीडाको रूपमा बुझ्ने युवा नेता मनोज कुमार गुप्ताको सक्रिय पहल र निरन्तर दबाबपछि अन्ततः सम्बन्धित निकाय चलायमान भएको छ। गुप्ताको पहलमा सडक विभागसँग निरन्तर समन्वय र दबाब सिर्जना भएपछि पुल निर्माण प्रक्रिया अघि बढ्ने चरणमा पुगेको हो।
मनोज कुमार गुप्ता आज महोत्तरी मात्र नभई सम्पूर्ण मिथिला क्षेत्रमै जनताको आवाज बोकेर मैदानमा उत्रिने साहसी, कर्मठ र परिणाममुखी युवा नेताको रूपमा स्थापित हुँदै जानु भएको छ। जहाँ धेरै जनप्रतिनिधि पद, पहुँच र बहानामा सीमित देखिन्छन्, त्यहीँ गुप्ता जनताको दैनिक दुःख-पीडालाई आफ्नै जिम्मेवारी ठानी समाधान खोज्न अग्रपंक्तिमा उभिँदै आउनु भएको स्थानीयको भनाइ छ।
यसैक्रममा सडक विभाग जनकपुरका निर्देशक दामोदर साहले आइतबारदेखि पथरा खोलाको पुल निर्माण कार्य सुचारू गरिने स्पष्ट प्रतिबद्धता जनाएका छन्। उनको प्रतिबद्धतापछि स्थानीयवासी र परिक्रमा बासीहरूमा आशा र राहतको भावना जागेको छ।
अब ढिलाइ नगरी गुणस्तरीय र समयमै काम सम्पन्न होस् भन्ने अपेक्षा सबैको रहेको छ। वर्षौंदेखि बेवास्तामा परेको यो पुल निर्माण कार्यले पूर्ण गति लिँदा यस क्षेत्रको यातायात, धार्मिक पर्यटन तथा स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।









