काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस अब समाप्त भएको बताएका छन्। आयोग घोषित मितिमै देशभर एकै पटक निर्वाचन गराउने तयारीमा धेरै अघि बढिसकेको र अब फर्किन नसकिने अवस्थामा पुगेको उनले स्पष्ट पारे।
शुक्रबार निर्वाचन आयोगमा आयोजित निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना शुभारम्भ कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनको कुनै विकल्प नरहेको बताए। ‘निर्वाचनको विकल्प निर्वाचन नै हो,’ उनले भने।
उनले निर्वाचनको वातावरण बिथोल्ने कुनै प्रयास देखिएमा सञ्चारमाध्यमले समयमै निर्वाचन आयोगलाई सचेत गराउन आग्रह गरे। साथै, राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत सूक्ष्म रूपमा निगरानी गर्न आवश्यक रहेको उनको भनाइ छ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अन्तरिम सरकार गठनका क्रममा राष्ट्रपतिबाट संविधानअनुसार निर्वाचन अनिवार्य रहेको सन्देश दिइसकिएको स्मरण गराउँदै संविधानको संरक्षण र मुलुकमा सुशासन कायम गर्न निर्वाचन नै एकमात्र विकल्प भएको उल्लेख गरे।
‘मुलुकले थप आन्दोलन धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले सबै नागरिकलाई निर्वाचनमा सक्रिय रूपमा सहभागी गराई सक्षम व्यक्तिहरूलाई संसदमा पठाउनु आजको साझा दायित्व हो।’









