१० पुस, महोत्तरी। सरकारी कागजात कीर्ते गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालय रामगोपालपुरमा कार्यरत एक कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
कार्यालयका कागजात, सरकारी छाप, किर्ते हस्ताक्षर तथा होलोग्रामको दुरुपयोग गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइएको आशंकामा कार्यालय सहयोगी कृष्ण मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
विशेष सूचनाका आधारमा मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा अनुसन्धान अगाडि बढाइएको हो।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार मण्डल पक्राउ परेपछि सोही कार्यालयका अर्का एक कार्यालय सहयोगी फरार भएका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
इलाका प्रशासन कार्यालय रामगोपालपुरबाट २०७६ सालमा वितरण गरिएका केही नागरिकतामा त्रुटि देखिएपछि अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईन्द्रदेव यादवले बताए।
‘गृह मन्त्रालयबाट २०८२ असोज ३० गते अनुसन्धान अगाडि बढाउन निर्देशन आएको थियो,’ प्रजिअ यादवले भने, ‘म महोत्तरी आउनुअघि नै अनुसन्धान सुरु भइसकेको थियो । पछि नागरिकता वितरण प्रक्रियामा गम्भीर त्रुटि देखिएपछि कार्यालय सहयोगीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।’ अनुसन्धान टुंगिएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए।
अनुसन्धानमा संलग्न कर्मचारीहरूका अनुसार कीर्ते गरी नागरिकता बनाएका केही भारतीय नागरिकहरू नेपाली राहदानी लिएर विदेशसमेत पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । नागरिकता बनाउने क्रममा इलाका प्रशासनका केही कर्मचारीले मोटो रकम असुलेको आशंका समेत गरिएको छ।
प्रहरीले यस प्रकरणमा संलग्न अन्य व्यक्ति र नेटवर्कबारे समेत छानबिन भइरहेको जनाएको छ। – कान्तिपुर









