२ पुस, जनकपुर। पदीय मर्यादा अनुरूप कार्य नगरेको पाइएपछि मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत ७२ जना कर्मचारी कारबाहीमा परेका छन्। कारबाहीमा दुई जना उपसचिवसमेत परेका छन्।
कर्मचारीहरूको लापरवाहीसम्बन्धी जनगुनासो बढेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका १८ वटा कार्यालयमा लगातार दुई दिन छड्के अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिदा स्वीकृति बिना घर बसेका ३४ जना तथा तोकिएको पोसाक नलगाई कार्यस्थलमा उपस्थित ३८ जना गरी कुल ७२ जना कर्मचारी कारबाहीमा परेका हुन्।
कारबाहीमा परेका कर्मचारीमध्ये खेलकुद तथा समाज कल्याण मन्त्रालयका ९ जना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका ४ जना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना, शिक्षा तथा संस्कृति मन्त्रालयका ५ जना, गृह, सञ्चार तथा कानुन मन्त्रालयका १ जना, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका ८ जना, वन तथा वातावरण मन्त्रालयका ६ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयका ५ जना, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका ३ जना रहेका छन्।
मधेश प्रदेशका निमित्त मुख्य सचिव रामकुमार महतोका अनुसार कारबाहीमा परेका ७२ जनामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी छन्। तीमध्ये उपसचिव तहका २ जना, शाखा अधिकृत ४१ जना, नायब सुब्बा १६ जना, खरिदार ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जनालाई स्पष्टीकरण सोधिनुका साथै नसिहत दिइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहत मधेशका आठै जिल्लामा रहेका विभिन्न कार्यालयहरूमा छड्के अनुगमनलाई निरन्तरता दिने जनाएको छ। सरकारी कामकारबाहीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले तीन दिनअघि मात्रै मुख्य सचिव महतोले कर्मचारीका नाममा २३ बुँदे निर्देशन जारी गर्नुभएको थियो।









