२९ मंसिर, काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति प्रदान गरेको छ। आयोगले २७ वटा राष्ट्रिय तथा चार वटा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न स्वीकृति दिएको हो।
आयोगले गत ११ कात्तिकमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट आवेदन आह्वान गरेको थियो। सोअनुसार ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तर्राष्ट्रिय संस्थाबाट आवेदन प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
प्राप्त आवेदनमध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा उल्लेखित मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थालाई मात्र पर्यवेक्षणको अनुमति दिने निर्णय गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
निर्देशिकाअनुसार आवश्यक कागजात पेस नगरेका संस्थालाई पाँच दिनभित्र थप कागजात बुझाउन पत्राचार गरिएको उनले बताए। मागअनुसारका कागजात प्राप्त भएपछि बाँकी संस्थाका सम्बन्धमा आवश्यक निर्णय गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।










