सिरहा। जनमत पार्टी सिरहा जिल्लाले संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्ययोजनाबारे छलफल गर्न चारै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एकै दिन क्षेत्रीय बैठक आयोजना गर्ने भएको छ। बैठक २०८२ मंसिर २९ गते दिउँसो ११ बजे सम्बन्धित क्षेत्रका तोकिएका स्थानमा सञ्चालन हुनेछ।
पार्टीका अनुसार बैठकमा सम्बन्धित निर्वाचन क्षेत्रभित्र पर्ने केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका तथा वडा समिति पदाधिकारी, वार्ता टोली तथा पालिका प्रत्याशी उम्मेदवारहरूको अनिवार्य उपस्थिति रहनेछ।
लहान क्षेत्रमा पर्ने प्रतिनिधि सभा क्षेत्र नं. १ को बैठक उद्योग वाणिज्य संघको सभा हल, लहान बजारमा आयोजना हुनेछ, जसको जिम्मेवारी हिरा लाल यादवलाई दिइएको छ। यस्तै, प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गतको बैठक सुखिपुरस्थित उद्योग व्यापार समितिको सभा हलमा हुनेछ, जसको संयोजन राम कुमार यादवले गर्नेछन्।
त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. ३ को बैठक विष्णुपुर–१ स्थित हरिमाया सामुदायिक भवनमा आयोजना गरिनेछ भने उक्त बैठकको जिम्मेवारी राम चन्द्र यादवलाई तोकिएको छ। प्रतिनिधि सभा क्षेत्र नं. ४ को बैठक भने कल्याणपुर–९ स्थित डुमरी अस्पताल (बर्थिङ सेन्टर) को प्राङ्गणमा सञ्चालन हुनेछ, जसको संयोजन कृष्णचन्द्र साहले गर्ने जानकारी पार्टीले दिएको छ।
जनमत पार्टी सिरहा जिल्ला समितिले सम्बन्धित सबै नेता तथा कार्यकर्तालाई समयमै उपस्थित भई बैठकलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।









